गणतन्त्रको मुखौटोभित्र
सामन्तवादको पुनरोदय हुँदै छ
फेरिएका छन्
राज्यका नामहरू
प्रदेश, स्थानीय जे होउन्
फेरिएका छन् पद्धतिहरू
छान्ने छानिने
फेरिएका छन्
छोटे सरकारहरू
प्रत्येक पाँच बर्षमा
फर्किनु पर्ने गाउँतिर
विधि बनाइएको छ
तर
यति फेरिदा पनि
फेरिएन चिन्तन
फेरिएन स्वार्थ
फेरिएन कार्यशैली
फेरिएन विचार, योजना
मलाई मेरो सरकार
सडक पेटिमा उभिन दिदैन
व्यापार गर्न दिदैन
आकाशमा हुने तस्करी देख्दैन
माफियातन्त्रको कारोबार देख्दैन
ठगी देख्दैन भ्रष्टाचार देख्दैन
विचरा! झोले व्यापारीहरू
झोला छाम्छ गोजी छाम्छ
कर उठाउछ, लाज लग्दैन
गाउँमा फलेको तरकारी
सरकार बस्ने सहरसम्म पुग्दैन
गरिखान दिदैन काम पनि
दलालहरू
व्यापारी उहीँ, बैंक उहीँ
कमिसन उहीँ, सर्मचारी उहीँ
गरिबी उहीँ, बेरोजगारी उहीँ
नेता उहीँ, नाता उहीँ
अपराधी उहीँ, न्यायाधीश उहीँ
के गरि बस्नु यो देशमा
विचरा! प्रेम आचार्यहरू
प्रेम आचार्यहरू
आत्मदाह गर्छन्
मेरो देशको संसद भवन अगाडि
सरकार!
बासुरी बजाऊ,
यो देशमा
दरिद्रोदय भएको छ।









Discussion about this post