सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तातोपानी नाका नियमित हुन अझै डेढ महीना

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका नियमित सञ्चालनमा आउन अझै डेढ महीना लाग्ने भएको छ । चीनको आग्रहमा जेठ १५ देखि औपचारिक रूपमा नाका खुले पनि पूर्ण सञ्चालनमा आउन भने समय लाग्ने तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र चिनियाँ भन्सार विभागमा भाइस मिनिस्टरले जेठ १५ मा संयुक्त रूपमा नाका उद्घाटन गरेका थिए । २०७२ वैशाख १२ को भूकम्पपछि उक्त नाका बन्द थियो । चीनले सीमामा बनाएको मितेरी पुलको निर्माण हतारमा सकेर नाका खोलेको थियो । सोही दिन चारओटा नेपाली कन्टेनरले खासाबाट ऊन लिएर आएका थिए । त्यसयता कुनै सामान आयात/निर्यात नभएको भन्सार कार्यालयले जानकारी दिएको छ ।

‘चीनको आग्रहमा नेपाली पक्ष सहभागी भएर तत्काललाई सांकेतिक रूपमा नाका सञ्चालनमा आएको हो । चीनले सुक्खा बन्दगाह नै हस्तान्तरण गर्न बाँकी छ,’ तातोपानीका प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले भने, ‘चीनले बन्दरगाह हस्तान्तरण गरेपछि नेपाली पक्षले आवश्यक तयारी थाल्न थप केही समय लाग्नेछ ।’

चीनले बन्दरगाह हस्तान्तरण गरेपछि नेपाल इन्टरमोडल यातायात विकास समिति, भन्सार, क्वारेन्टाइन, सुरक्षा लगायत निकायले आआप्mना प्राविधिक तयारी सकेपछि मात्रै नाका नियमित हुने बस्नेतले बताए ।

Mahakali Polytechnic

चीनले दुई देशको सीमाबाट ६ किलोमिटर टाढा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा सुक्खा बन्दरगाह निर्माण गरिरहेको छ । भवन तयार भइसके पनि इन्टरनेट जडान, फर्निसिङ लगायत काम बाँकी नै छन् । नेपाली पक्षले अहिले विद्युत्, इन्टरनेट जडानजस्ता प्राविधिक काम जारी राखेको र फर्निसिङका लागि चिनियाँ पक्षलाई नै आग्रह गरिएको भन्सार प्रमुख बस्नेतले बताए ।

World Link Ads

नाकाको पूर्ण तयारी, व्यवसायीको मालसामानको सुरक्षाको प्रत्याभूतिपछि मात्र आफूहरूले सामान आयात/निर्यातको तयारी थाल्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । नेपाल ट्रक–कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले नाका नियमित हुनासाथ कन्टेनरको सेवा थाल्न आफूहरू तयारी अवस्थामा बसेको बताए । काठमाडौंबाट तातोपानी ११४ र खासा १२६ किमि टाढा पर्छन् ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.