– सुरेश किरण
बजारमा तरकारीको भाउ फेरि बढ्न थालेको छ । अर्थात्, तरकारी छोइसक्नु छैन । भाउ बढेपछि कसरी छुने ? छुनै सकिँदैन ।
हिजो म तरकारी किन्न बजार गएको थिएँ । म सधैँ त बजार जाँदिनँ । कहिलेकाहीँ मात्रै जाने हो । हिजो त्यही कहिलेकाहीँको बजार हो ।
आलु किन्नु थियो । पसलमा गएर दुइटाजति आलु हातमा लिँदै भाउ सोध्नै लागेको थिएँ, मेरो हातैमा भएको आलुले चेतावनीपूर्ण भाषामा भन्यो, “मलाई तल राख्नुस्, हात नलगाउनुस् त । सुन्नुभएन ? हात नलगाउनुस् ।”
हत्तपत्त हातमा भएको आलु टोकरीमै हालेँ । “पहिले भाउ सोध्नुस्, अनि हात लाउनुस् ।” आलुको रवाफपूर्ण आदेश ।
“किन र ? भाउ सोधिहाल्छु नि ।” मैले भनेँ ।
“होइन । पहिले भाउ सोध्नुस् । अहिले हाम्रो भाउ बढिसकेको छ । पहिले बढेको भाउ थाहा पाउनुस् अनि छुन आउनुस् ।” आलुले गमक्क पर्दै भन्यो ।
मैले सोधेँ, “किन ? कति बढेको छ ? उही दुई–चार रुपैयाा त होला नि । तिरिहाल्छु ।”
आलुले भन्यो, “दुई–चार रुपैयाँ होइन । पूरै डबल बढेको छ । अहिले हामीलाई पहिलेको जस्तो आलु नसम्झनुस् ।”
आलुको धाक देखेर म चकित हुँदै थिएँ । तैपनि आलुसँग के जोरी खोज्नु ? संयमित हुँदै भनेँ, “पहिले त उही दुई–तीन रुपैयाँ नै बढ्ने हो । अहिले किन डबल ?”
“पहिलेको कुरा अहिले नगर्नुस्,” आलुले भन्यो, “पहिले–पहिले सरकारै कमजोर थियो । भाउ बढाउन पनि डराउने । अहिले त दुई तिहाइको सरकार आएको छ । हामी दुई तिहाइसहितको सरकारवाला आलु हौँ । यो सरकार आउनेबित्तिकै हाम्रो भाउ बढेको बढ्यै छ । सरकार भनेको यस्तो हुनुपर्छ । पहिले–पहिले हामीलाई जाबो आलु भन्थे । तर अहिले बजारमा हाम्रो इज्जतै बेग्लै छ । सरकार भनेको त यस्तो चाहिन्छ ।”
आलुले पूरै गमक्क परेर जवाफ दियो । मलाई लाग्यो, साँच्चै अब यो आलुलाई छुन सक्ने अवस्था छैन । म आलु छाडेर कर्कलोतिर लागेँ ।