काठमाडौं । आज अक्टोबर २४, विश्व पोलियो दिवस नेपालसहित विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। पोलियो रोग उन्मूलनका लागि जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अक्टोबर २४ मा यो दिवस मनाउने गरिन्छ।
पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो। यसले मुख्यतः स्नायु प्रणालीमा असर पुर्याउन सक्छ। गम्भीर अवस्थामा मांसपेशी कमजोर हुने तथा पक्षाघातसमेत हुन सक्ने भएकाले यसबाट बच्न बालबालिकालाई समयमै पोलियोविरुद्धको खोप लगाउन आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले जोड दिँदै आएका छन्।
विश्वका कुनै पनि देशमा पोलियो भाइरसको सङ्क्रमण देखिएमा अन्य देशमा समेत यसको जोखिम रहन सक्ने भएकाले पोलियो उन्मूलनका लागि अन्तर्राष्ट्रिय स्तरमै प्रयास हुँदै आएका छन्।
नेपाल सरकारले पनि पाँच वर्षमुनिका बालबालिकालाई लक्षित गरी पोलियोविरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दै आएको छ। ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा पुर्याउन महिला स्वास्थ्य स्वयंसेविकासहित स्वास्थ्यकर्मी परिचालन गरी बालबालिकालाई निःशुल्क खोप उपलब्ध गराइँदै आएको छ।
पोलियोमुक्त समाज निर्माणका लागि नियमित खोप, जनचेतना र स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न आवश्यक रहेको छ।










Discussion about this post