कञ्चनपुर — बैतडीको शिवनाथ गाउँपालिकाका जितेन्द्र सिंह महता डेढ दशक लामो दक्षिण कोरिया बसाइपछि स्वदेश फर्किएका छन्। प्रवासमा सामाजिक सेवा, शिक्षा र सङ्गठनात्मक नेतृत्वमा सक्रिय रहेका महता स्वदेश फर्किएसँगै शिवनाथ गाउँपालिकाको भावी नेतृत्वका विषयमा स्थानीयस्तरमा चर्चा सुरु भएको छ।
सामान्य श्रमिकका रूपमा दक्षिण कोरिया पुगेका महताले त्यहाँको बसाइलाई व्यक्तिगत प्रगतिमा मात्र सीमित नराखी सामाजिक सेवा, उच्च शिक्षा र नेतृत्व विकासमा समेत उपयोग गरे। उनले गैरआवासीय नेपाली सङ्घ, नेपाली जनसम्पर्क समिति तथा सुदूरपश्चिम समाजलगायत विभिन्न सामाजिक सङ्घसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
प्रवासमा रहँदा महताले सुदूरपश्चिमको कला तथा संस्कृतिको संरक्षण, नेपाली समुदायबीच आपसी सद्भाव अभिवृद्धि र विपद्मा परेकाहरूलाई राहत सहयोग पुर्याउने कार्यमा सक्रिय भूमिका खेले। २०७२ सालको भूकम्प तथा विभिन्न स्थानमा आएका बाढीपहिरोका बेला राहत सङ्कलन र वितरणमा समेत उनको नेतृत्व रहेको जनाइएको छ।
त्यस्तै, मुगुका विद्यार्थीलाई शैक्षिक सहयोग तथा बैतडीका दुर्गम विद्यालयका विपन्न र प्रतिभाशाली विद्यार्थीलाई प्रोत्साहन गर्ने अभियानमा पनि उनी संलग्न रहे।
महताका पिता स्वर्गीय जयसिंह महता २०५४ सालमा बैतडी जिल्ला विकास समितिका सभापति थिए। जनप्रिय र विकासप्रेमी नेताका रूपमा परिचित पिताको सामाजिक तथा राजनीतिक विरासतलाई निरन्तरता दिने अपेक्षा पनि उनीसँग जोडिएको छ।

असोज २२ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवाहरूले गरेको स्वागतले महताप्रति समर्थकहरूको उत्साह झल्काएको छ। प्रवासमा आर्जन गरेको ज्ञान, सीप, अनुशासन र अन्तर्राष्ट्रिय अनुभवलाई अब जन्मभूमिको विकासमा उपयोग गर्ने उद्देश्यसहित उनी स्वदेश फर्किएका हुन्।
महताको आगमनसँगै शिवनाथ गाउँपालिकामा आगामी स्थानीय निर्वाचनमा उनलाई नेतृत्वमा ल्याउनुपर्ने विषयमा स्थानीयस्तरमा चर्चा हुन थालेको छ। अध्ययनशील, अनुभवी र सामाजिक क्षेत्रमा सक्रिय युवा नेतृत्वको खोजी भइरहेका बेला उनको स्वदेश फिर्तीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
यद्यपि, महताले आगामी स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिने विषयमा औपचारिक घोषणा गरेका छैनन्। तर, उनको स्वदेश फिर्ती र सामाजिक पृष्ठभूमिले शिवनाथमा सम्भावित युवा नेतृत्वबारे बहसलाई थप बल दिएको छ।










Discussion about this post