लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनामा कुल २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूको अध्यक्षतामा आज बसेको बैठकले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ लागतको ५८.९ मेगावाट क्षमताको नार खोला जलविद्युत् परियोजना र १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लागतको ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको हो।

बैठकले ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् परियोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्यअनुसार अघि बढ्ने विषयमा निर्णय गरेको छ। साथै, ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको निर्माण कार्य परियोजना विकास सम्झौताका प्रावधानअनुसार तत्काल अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय पनि गरेको छ।
स्वीकृत परियोजनाको प्रभावकारी कार्यान्वयन तथा लगानीकर्तालाई प्रदान गरिने सेवामा सहजीकरण गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत बैठकले गरेको छ।
त्यसैगरी, बोर्डले आह्वान नगरेका प्रस्तावलाई आवश्यकताअनुसार स्वीस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराई अघि बढाउन आवश्यक कानुनी व्यवस्था गर्न कार्यालयलाई निर्देशन दिएको छ।
कृत्रिम बुद्धिमत्ता (एआई) लगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनाका लगानी प्रस्ताव प्राप्त भएमा नेपालको नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना र आर्थिक विकासमा पुर्याउने योगदानलाई ध्यानमा राख्दै त्यस्ता परियोजनाको विकासलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ।










Discussion about this post