काठमाण्डौ । सूचनामा विश्वव्यापी पहुँचको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने यो दिवस सन् २०१९ अक्टोबर १५ मा संयुक्त राष्ट्रसङ्घको महासभाको ७४औँ अधिवेशनले घोषणा गरेको हो। युनेस्कोको सिफारिस तथा लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका लागि सूचनामा नागरिकको पहुँचको महत्वलाई ध्यानमा राख्दै यो दिवस मनाउन थालिएको हो।
विश्वभर नागरिकको सूचनाको हक सुनिश्चित गर्ने र सार्वजनिक सूचनामा सहज पहुँच बढाउने उद्देश्यले यस अवसरमा विभिन्न कार्यक्रम हुँदै आएका छन्। राष्ट्रिय सूचना आयोगले पनि नागरिकलाई सूचनाको हकबारे जानकारी गराउँदै सार्वजनिक निकायबाट सूचना प्राप्त गर्ने वातावरण बनाउन निरन्तर काम गरिरहेको जनाएको छ।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार समितिले सन् २०११ मा सूचनामा पहुँचको अधिकारलाई अभिव्यक्ति स्वतन्त्रताको महत्वपूर्ण हिस्साका रूपमा स्वीकार गरेको थियो। सूचनाको हकअन्तर्गत सार्वजनिक निकायले कानुनले तोकेको सीमाबाहेक आवश्यक सूचना उपलब्ध गराउनुका साथै सार्वजनिक सरोकारका सूचनालाई पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने मान्यता छ।
नेपालमा पनि ग्रामीण क्षेत्र, सीमान्तकृत तथा पिछडिएका समुदायसम्म सूचनाको हकसम्बन्धी ज्ञान र पहुँच विस्तार गर्न अझै आवश्यक रहेको आयोगले जनाएको छ। सूचना प्रवाहलाई प्रभावकारी बनाउन सामाजिक सञ्जाल, इन्टरनेट र इमेललगायत विद्युतीय माध्यमको सदुपयोगमा समेत जोड दिइँदै आएको छ।
सूचनामा नागरिकको सहज पहुँचले पारदर्शिता, जवाफदेहिता र लोकतान्त्रिक सहभागिता मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले दिवसले सूचनाको हकको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।











Discussion about this post