काठमाडौं । देशका पूर्वी तथा मध्य भू–भागमा वर्षाको गतिविधि बढ्न थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशमा आजदेखि वर्षा हुने क्रम सुरु भएको हो।
मौसमविद्का अनुसार काठमाडौं उपत्यकासहित चितवन, रसुवा, मकवानपुर, गोरखा, सिन्धुपाल्चोकलगायत क्षेत्रमा हल्का वर्षा भइरहेको छ। मनसुनी वायुको प्रभाव कायमै रहनुका साथै बंगालको खाडीमा विकसित प्रणालीको प्रभाव देखिन थालेकाले आगामी दिनमा वर्षाको गतिविधि थप बढ्ने सम्भावना छ।
महाशाखाका अनुसार अहिले वर्षा भइरहेका क्षेत्रमा लगातार पानी पर्ने अवस्था भने छैन। बिहीबार बेलुकासम्म वर्षा हुने र रोकिने क्रम चल्ने तथा त्यसपछि वर्षाको गतिविधि क्रमशः बढ्दै जाने अनुमान गरिएको छ। शुक्रबारदेखि आइतबारसम्म देशका धेरै स्थानमा भारीदेखि अत्यधिक भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
उत्तर अण्डमान सागर तथा आसपास विकसित न्यूनचापीय क्षेत्र अहिले बंगालको खाडीको मध्य भाग आसपास रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेकाले नेपालमा पनि यसको प्रभाव पर्न सक्ने मौसमविद्हरूले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै देशका विभिन्न क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने जनाइएको छ।
त्यस्तै मधेश, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुनसक्ने सम्भावना छ। हिमाली क्षेत्रमा भारी हिमपातको समेत जोखिम रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई सतर्क रहन आग्रह गरिएको छ।
पूर्वानुमानअनुसार कोशी र बागमती प्रदेशमा आज बेलुकादेखि शनिबारसम्म, मधेशमा बिहीबार र शुक्रबार, गण्डकी तथा लुम्बिनीमा शुक्रबारदेखि आइतबारसम्म र कर्णाली तथा सुदूरपश्चिममा शुक्रबारदेखि आइतबारसम्म वर्षाको सम्भावना रहेको छ।
सम्भावित बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त बस्तीमा पूर्वसूचना प्रणाली सक्रिय राख्न, सम्भावित डुबान क्षेत्र पहिचान गर्न तथा उद्धार र राहत सामग्री तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
नागरिकलाई पनि मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न, सम्भव भएसम्म रातिको समयमा यात्रा नगर्न तथा धानबालीमा पानी निकासको उचित व्यवस्था गर्न सुझाव दिइएको छ।










Discussion about this post