Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डोट्याली गजलमा समयको विवेक र राजनीतिक व्यङ्ग्य

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ३२, २०८३
डोट्याली गजलमा समयको विवेक र राजनीतिक व्यङ्ग्य
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

डोट्याली गजलमा समयको विवेक र राजनीतिक व्यङ्ग्य

हेमबाबु लेखकको गजलको समालोचनात्मक विश्लेषण

– जगन्नाथ आत्रेय, महेन्द्रनगर

 

पृष्ठभूमि

सुदूरपश्चिमको साहित्यिक आन्दोलन, सांस्कृतिक पुनर्जागरण र सामाजिक सचेतनाको यात्रामा हेमबाबु लेखक एउटा परिचित, सक्रिय र बहुआयामिक व्यक्तित्व हुन्। बैतडी जिल्लाको दशरथचन्द नगरपालिका नजिकै सिमल्टिया–पाण्डेय वंशको साहित्यिक परिवारमा जन्मिएका उनले कञ्चनपुरको महेन्द्रनगरलाई आफ्नो कर्मभूमि बनाउँदै साहित्य, समाजसेवा, संस्कृति संरक्षण तथा राष्ट्रिय सरोकारका अनेक अभियानमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

उनी केवल कवि वा गजलकार मात्र होइनन्; कुशल कार्यक्रम व्यवस्थापक, सामाजिक अभियन्ता, सम्पादक र सांस्कृतिक चिन्तक पनि हुन्। २०६२/६३ को लोकतान्त्रिक आन्दोलन, अखण्ड सुदूरपश्चिम आन्दोलन, सुदूरपश्चिम विश्वविद्यालय स्थापनाको आन्दोलनदेखि विभिन्न सामाजिक तथा सांस्कृतिक अभियानहरूमा अग्रपङ्क्तिमा रहेर उनले आफ्नो सक्रिय उपस्थिति जनाएका छन्।

उनको नेतृत्व तथा संलग्नतामा राष्ट्रियता संरक्षण अभियान बैतडी, मानसखण्ड फाउन्डेसन, मानसखण्ड गुरुकुल, महाकाली साहित्य संगम, गुगुल्डि साहित्यिक मासिक, गुगुल्डि वाङ्मय प्रतिष्ठान, सुदूरपश्चिम साहित्य समाज लगायतका संस्थाहरूले उल्लेखनीय साहित्यिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गरेका छन्। त्यसैगरी मानस, कालापानी, परेली, चर्मण्वति जस्ता पत्रपत्रिकाको सम्पादन–प्रकाशनमा उनको प्रत्यक्ष योगदान रहेको छ। उनका गजल सङ्ग्रह तथा ऐतिहासिक जनआन्दोलनको संस्मरण जस्ता कृतिहरू प्रकाशित भइसकेका छन्।

हेमबाबु लेखक नेपाली, डोट्याली, हिन्दी र कुमाउनी भाषामा समान अधिकारका साथ कलम चलाउने स्रष्टा हुन्। विशेषतः डोट्याली भाषामा उनका रचनाहरूले स्थानीय जनजीवन, राजनीतिक विसङ्गति, नैतिक पतन, सांस्कृतिक चेतना र जनभावनालाई जीवन्त रूपमा अभिव्यक्त गरेका छन्। प्रस्तुत गजल पनि त्यही परम्पराको एउटा सशक्त प्रतिनिधि रचना हो। सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको यो गजलले आजको राजनीतिक चरित्र, नैतिक स्खलन र जनअपेक्षाको विडम्बनालाई अत्यन्त तीक्ष्ण व्यङ्ग्यका साथ उद्घाटित गरेको छ।

 

मूलपाठ:- 

तेरि भुबाट क्याले, अग्गास उड्डुलाछ ।

रामराज्यकि थिति यो, क्याले उजड्डुलाछ ।।

ताे असपसाट तेरि, क्याइ असपटिनलाछ,

परभात ब्यानलै याे, झल क्याले पड्डुलाछ ।।

तैं कुर्चिकि लडन्छै, तो कुर्ची बनुन्या मान्सु,

येइ पेटकि बगडमाइ, दिनरात लड्डुलाछ ।।

जाे चाेर छन् उसैका, आवाज जाेरका छन्,

जाँगर युवाको, क्याले उनिगाड रड्डुलाछ ।।

उइ मान्स है तु कन्का, बेच्च्या धुलो धेकाई,

तेरि मति यिस्यारि, क्याले ब सड्डुलाछ ।।

हेरिर्‍यान चित्रगुप्त, जाणिर्‍यान धर्मराज,

किक्या सपड्डुलाछ, किक्या बिगड्डुलाछ ।।

समालोचनात्मक विश्लेषण

 

1. विषयवस्तु

यो गजल मूलतः राजनीतिक व्यङ्ग्य, सामाजिक विकृति, नैतिक पतन र जनचेतनाको गजल हो। कविले कुनै दल, व्यक्ति वा समूहलाई प्रत्यक्ष नाम लिएर आक्रमण गरेका छैनन्; तर समग्र राजनीतिक संस्कृतिको विद्रूप अनुहारलाई प्रतीकात्मक रूपमा उघारेका छन्। यही कारणले यो गजल कुनै एउटा समयको टिप्पणी मात्र नभई हरेक संक्रमणकालीन समाजको दस्तावेज बन्न पुगेको छ।

 

शेरगत अन्वयार्थ

(१) यस पहिलो शेरमा कविले तिम्रो दनदन आगो बलेजस्तो चर्को आवाज (भुवाट) किन आकाशसम्म (अग्गास) पुगिरहेको छ भन्ने प्रश्न गर्दै आदर्श शासन र सुशासनको प्रतीक मानिएको रामराज्यको व्यवस्था आखिर कुन कारणले उजाडिँदै गएको हो भन्ने गम्भीर चिन्ता व्यक्त गरेका छन्।

 

(२) दोस्रो शेरमा तिम्रो त्यो अनावश्यक हल्लाखल्ला, फाइफुई र दौडधुप किन अलमल र अन्योलमा परिणत भइरहेको छ भन्ने प्रश्न उठाइएको छ। उज्यालो बिहानी आउन नपाउँदै साँझ परेजस्तो निराशा, अन्योल र अन्धकारमय परिस्थिति किन सिर्जना भइरहेको छ भन्ने भाव व्यक्त गरिएको छ।

 

(३) तेस्रो शेरमा सत्ताको कुर्सीका लागि नेताहरू आपसमा संघर्ष गरिरहे पनि त्यो कुर्सी बनाउने श्रमिक भने पेट पाल्नकै लागि दिनरात बगरमा दुःख गरिरहेको मार्मिक सामाजिक यथार्थ प्रस्तुत गरिएको छ। यसले सत्ताभोगी र श्रमजीवीबीचको गहिरो असमानतालाई उजागर गरेको छ।

 

(४) चौथो शेरमा समाजमा बेइमान र भ्रष्टहरूको नै आवाज बुलन्द भइरहेको विडम्बनाप्रति व्यङ्ग्य गरिएको छ। अर्कोतर्फ, परिवर्तनको संवाहक हुनुपर्ने युवाशक्तिको जाँगर, ऊर्जा र उत्साह किन ओरालो लाग्दै, खेर जाँदै वा गलत दिशातर्फ बग्दै गएको छ भन्ने गम्भीर प्रश्न उठाइएको छ।

 

(५) पाँचौ शेरमा कविले चामलका टुक्रा (कन्का) देखाएर पिठो बेच्ने अर्थात् छलकपट, धोका र भ्रमको व्यापार गर्ने व्यक्तिलाई सम्बोधन गर्दै तिम्रो विवेक र नैतिक चेतना आखिर कुन कारणले यसरी सड्दै गएको हो भन्ने तीक्ष्ण व्यङ्ग्य गरेका छन्।

 

(६) अन्तिम शेरमा चित्रगुप्तले सबै कर्मको लेखाजोखा गरिरहेका छन् र धर्मराज सबै कुरा जानिरहेका छन् भन्ने धार्मिक प्रतीकमार्फत अन्ततः संसारमा के सुधारिँदै छ र के बिग्रँदै छ भन्ने सम्पूर्ण हिसाब–किताब हुने नैतिक सत्यलाई स्मरण गराइएको छ। मानिसले क्षणिक रूपमा सत्यलाई ढाक्न सक्ला, तर कर्मको न्यायबाट उम्कन सक्दैन भन्ने सन्देश यस शेरले दिन्छ।

 

शेरगत भाव विश्लेषण

पहिलो शेर

तेरि भुबाट क्याले, अग्गास उड्डुलाछ ।

रामराज्यकि थिति यो, क्याले उजड्डुलाछ ।।

गजलको पहिलो शेरले सम्पूर्ण रचनाको वैचारिक आधार तयार गर्छ। “भुबाट अग्गास उड्डुलाछ” भन्ने अभिव्यक्तिले समाजमा विकृति, अराजकता र नैतिक पतनले सीमा नाघिसकेको अवस्थालाई सङ्केत गर्छ। “रामराज्य” आदर्श शासन, न्याय, समानता र नैतिक मूल्यको प्रतीक हो। कविले वर्तमान यथार्थलाई आदर्शसँग तुलना गर्दै त्यस्तो सुशासन कहिले स्थापित होला भन्ने गम्भीर प्रश्न उठाएका छन्। यस शेरमा निराशाभन्दा बढी परिवर्तनको आकाङ्क्षा मुखरित भएको छ। प्रश्नात्मक शैलीले पाठकलाई आफ्नै समयप्रति पुनर्विचार गर्न बाध्य बनाउँछ।

 

दोस्रो शेर

ताे असपसाट तेरि, क्याइ असपटिनलाछ,

परभात ब्यानलै याे, झल क्याले पड्डुलाछ ।।

यस शेरमा कविले अन्योल, अस्थिरता र दिशाहीन समाजको चित्र कोरेका छन्। “असपसाट” र “असपटिनलाछ” जस्ता शब्दहरूले सामाजिक तथा राजनीतिक अन्योललाई जीवन्त बनाएका छन्। “परभात” नयाँ युग, नयाँ आशा र उज्यालो भविष्यको प्रतीक हो। तर त्यो बिहान अझै नआएको अनुभूति कविले व्यक्त गरेका छन्। यहाँ केवल शासन परिवर्तनको अपेक्षा होइन, चेतना, नैतिकता र सामाजिक संस्कारको पुनर्जागरणप्रतिको चाहना पनि अभिव्यक्त भएको छ।

 

तेस्रो शेर

तैं कुर्चिकि लडन्छै, तो कुर्ची बनुन्या मान्सु,

येइ पेटकि बगडमाइ, दिनरात लड्डुलाछ ।।

यो गजलको सबैभन्दा तीक्ष्ण राजनीतिक व्यङ्ग्य बोकेको शेर हो। “कुर्ची” यहाँ सत्ताको प्रतीक बनेको छ भने “पेट” व्यक्तिगत स्वार्थ र लोभको प्रतीक हो। कविले जनताको सेवाको नाममा गरिने राजनीतिक प्रतिस्पर्धा वास्तवमा पद, प्रतिष्ठा र व्यक्तिगत लाभका लागि हुने संघर्ष मात्र भएको कटु यथार्थ प्रस्तुत गरेका छन्। “दिनरात लड्डुलाछ” भन्ने अभिव्यक्तिले सत्तालोलुपताको निरन्तरता र अस्वस्थ राजनीतिक संस्कृतिलाई प्रभावकारी ढङ्गले चित्रण गरेको छ। एक थरि कर्मशील व्यक्तिहरू बगरमा संघर्ष गरि रहेका छन। सत्ता केवल माथिल्लाको लागि स्वार्थ पुरा गर्ने माध्यम भयेको छ।

 

चौथो शेर

जाे चाेर छन् उसैका, आवाज जाेरका छन्,

जाँगर युवाको, क्याले उनिगा:ड रड्डुलाछ ।।

यस शेरले वर्तमान समाजको मूल्य–सङ्कटलाई उजागर गर्छ। समाजमा इमानदारभन्दा बेइमान, सत्यवादीभन्दा शक्तिशाली र धनबल भएकाहरूको आवाज प्रभावशाली भएको विडम्बनालाई कविले मार्मिक ढङ्गले प्रस्तुत गरेका छन्। दोस्रो पङ्क्तिमा युवाशक्तिको दुरुपयोगप्रति गहिरो चिन्ता व्यक्त गरिएको छ। परिवर्तनका संवाहक हुनुपर्ने युवा गलत नेतृत्वको पछि लागेर आफ्नो ऊर्जा खेर फालिरहेका छन् भन्ने गम्भीर सन्देश यस शेरमा निहित छ।

 

पाँचौँ शेर

उइ मान्स है तु कन्का, बेच्च्या धुलो धेकाई,

तेरि मति यिस्यारि, क्याले ब सड्डुलाछ ।।

यो शेर राष्ट्रिय चेतना र नैतिक उत्तरदायित्वको दृष्टिले अत्यन्त सशक्त छ। “धुलो बेच्नु” केवल माटो बेच्नु मात्र होइन; आफ्नो स्वाभिमान, संस्कृति, राष्ट्रिय अस्मिता र मूल्यहरू बेच्नुको प्रतीकात्मक अर्थ पनि बोकेको छ। कविले यस्ता व्यक्तिहरूलाई सीधा प्रश्न गर्दै विवेक र नैतिक चेतना कहिले जाग्ने हो भनेर कटाक्ष गरेका छन्। यस शेरमा देशप्रेम, आत्मसम्मान र नैतिक जिम्मेवारीको गहिरो भाव अभिव्यक्त भएको छ।

 

छैटौँ (मक्ता) शेर

हेरिर्‍यान चित्रगुप्त, जाणिर्‍यान धर्मराज,

किक्या सपड्डुलाछ, किक्या बिगड्डुलाछ ।।

गजलको अन्तिम शेरले सम्पूर्ण रचनालाई दार्शनिक उचाइमा पुर्‍याएको छ। हिन्दू दर्शनका अनुसार चित्रगुप्तले प्रत्येक मानिसका कर्मको लेखाजोखा राख्छन् भने धर्मराजले त्यसकै आधारमा न्याय गर्छन्। कविले यही धार्मिक प्रतीकको माध्यमबाट मानिसले संसारलाई छल्न सक्ला, कानुनलाई छल्न सक्ला, तर कर्मको न्यायबाट कहिल्यै उम्कन नसक्ने शाश्वत सत्यलाई स्मरण गराएका छन्। “किक्या सपड्डुलाछ, किक्या बिगड्डुलाछ” भन्ने पङ्क्तिले अन्ततः सत्य र असत्य, उचित र अनुचित सबैको हिसाब हुने नैतिक निष्कर्ष प्रस्तुत गर्छ। यही शेरले सम्पूर्ण गजलको भावलाई समेट्दै व्यङ्ग्यलाई दर्शनमा रूपान्तरण गरेको छ।

यसरी हेर्दा प्रत्येक शेर स्वतन्त्र रूपमा अर्थपूर्ण भए पनि समग्रमा यी सबै शेरहरू परस्पर सम्बद्ध छन्। पहिलो शेरले प्रश्न उठाउँछ, बीचका शेरहरूले राजनीतिक, सामाजिक र नैतिक विकृतिहरूको उद्घाटन गर्छन्, र अन्तिम शेरले कर्मफल र न्यायको सार्वकालिक सिद्धान्तमार्फत सम्पूर्ण गजललाई दार्शनिक निष्कर्षमा पुर्‍याउँछ। यही संरचनात्मक एकता र वैचारिक क्रमिकताले हेमबाबु लेखकको यस डोट्याली गजललाई प्रभावशाली, विचारोत्तेजक र दीर्घजीवी बनाएको छ।

गजलको साहित्यिक ओज

हेमबाबु लेखकको प्रस्तुत डोट्याली गजल आफ्नो वैचारिक प्रखरता, व्यङ्ग्यको धार, लोकभाषाको जीवन्त प्रयोग र दार्शनिक निष्कर्षका कारण उच्च साहित्यिक ओजले सम्पन्न रचना हो। यसमा कविले कुनै कृत्रिम भाषिक आडम्बरको सहारा नलिई डोट्याली जनजीवनबाट आएका स्वाभाविक शब्द, मुहावरा र लोकप्रतीकमार्फत समकालीन राजनीतिक, सामाजिक र नैतिक यथार्थलाई तीक्ष्ण रूपमा अभिव्यक्त गरेका छन्। यही सहजता र मारक अभिव्यक्तिले गजललाई प्रभावकारी बनाएको छ।

रचनाको अर्को महत्वपूर्ण ओज यसको प्रश्नात्मक शैली हो। लगभग प्रत्येक शेरमा कविले प्रत्यक्ष उत्तर नदिई प्रश्न उठाएका छन्। यी प्रश्नहरू कुनै व्यक्तिलाई मात्र लक्षित छैनन्; यिनले सम्पूर्ण समाज, राज्य व्यवस्था र नागरिक चेतनामाथि प्रश्नचिह्न खडा गर्छन्। यसरी प्रश्न आफैंमा प्रतिरोधको माध्यम बनेको छ, जसले पाठकलाई आत्ममूल्याङ्कन र सामाजिक यथार्थप्रति गम्भीर बन्न प्रेरित गर्छ।

प्रस्तुत गजलमा प्रतीक र व्यञ्जनाको सशक्त प्रयोग भएको छ। “रामराज्य” आदर्श शासनको, “कुर्ची” सत्तालोलुपताको, “पेट” स्वार्थको, “चोर” भ्रष्ट प्रवृत्तिको, “धुलो” मातृभूमि र राष्ट्रिय अस्मिताको तथा “चित्रगुप्त–धर्मराज” कर्मफल र अन्तिम न्यायको प्रतीकका रूपमा प्रयोग भएका छन्। यी प्रतीकहरूले गजललाई तत्कालीन राजनीतिक टिप्पणीको सीमाभन्दा माथि उठाएर सार्वकालिक मानवीय मूल्यको अभिव्यक्ति बनाएका छन्।

भाषिक दृष्टिले पनि गजल अत्यन्त सबल छ। डोट्याली भाषाका मौलिक शब्दहरू—उड्डुलाछ, उजड्डुलाछ, लड्डुलाछ, रड्डुलाछ, सड्डुलाछ—को पुनरावृत्तिले गेयता, लयात्मकता र ध्वनिसौन्दर्य सिर्जना गरेको छ। स्थानीय भाषाको मिठास र व्यङ्ग्यात्मक अभिव्यक्तिको संयोजनले रचनालाई विशिष्ट पहिचान दिएको छ। यसले डोट्याली भाषाको अभिव्यक्ति क्षमता र साहित्यिक सामर्थ्यलाई पनि प्रमाणित गर्दछ।

गजलको सबैभन्दा ठूलो साहित्यिक शक्ति भनेको यसको क्रमिक भावविस्तार हो। प्रारम्भमा आदर्श शासनको खोजीबाट सुरु भएको विचारयात्रा क्रमशः राजनीतिक अवसरवाद, सामाजिक विसङ्गति, युवाशक्तिको दुरुपयोग, नैतिक पतन हुँदै अन्ततः कर्मफल र धर्मन्यायको दार्शनिक निष्कर्षमा पुग्छ। यसले गजललाई केवल व्यङ्ग्यात्मक रचना मात्र नभई सामाजिक चेतना र नैतिक दर्शनको गहिरो दस्तावेजका रूपमा स्थापित गरेको छ।

समग्रमा, हेमबाबु लेखकको यो गजल डोट्याली भाषामा सिर्जित समकालीन राजनीतिक–सामाजिक व्यङ्ग्यको सशक्त उदाहरण हो। लोकभाषाको जीवन्तता, विचारको प्रखरता, प्रतीकात्मक अभिव्यक्ति, व्यञ्जनात्मक अर्थगर्भिता, लयात्मक प्रवाह र दार्शनिक गहिराइका कारण यो गजल साहित्यिक दृष्टिले प्रभावशाली, कालजयी सम्भावना बोकेको तथा डोट्याली गजल परम्परामा उल्लेखनीय उपलब्धिका रूपमा मूल्याङ्कन गर्न सकिन्छ।

गजलले संकेत गरेको गजलकारको लेखन–प्रवृत्ति –

प्रस्तुत गजलका आधारमा हेर्दा हेमबाबु लेखकको लेखन–प्रवृत्ति स्पष्ट रूपमा यथार्थवादी, जनपक्षीय, व्यङ्ग्यप्रधान, राष्ट्रिय चेतनायुक्त तथा नैतिक दर्शनतर्फ उन्मुख रहेको देखिन्छ। उनी साहित्यलाई केवल सौन्दर्याभिव्यक्तिको माध्यमका रूपमा मात्र होइन, समाजका विकृति–विसङ्गति, राजनीतिक विचलन र नैतिक पतनप्रति सचेत गराउने सामाजिक हस्तक्षेपको सशक्त साधनका रूपमा प्रयोग गर्छन्। त्यसैले उनका शब्दहरू मनोरञ्जनका लागि होइन, समाजलाई झस्काउने र सोच्न बाध्य पार्ने उद्देश्यले अभिव्यक्त भएका देखिन्छन्।

यस गजलमा गजलकारले प्रत्यक्ष आरोपभन्दा प्रतीकात्मक व्यञ्जनालाई बढी महत्त्व दिएका छन्। रामराज्य, कुर्ची, पेट, चोर, धुलो, चित्रगुप्त, धर्मराज जस्ता प्रतीकहरू मार्फत उनी तत्कालीन राजनीतिक र सामाजिक यथार्थको गहिरो विश्लेषण गर्छन्। यसबाट उनको लेखनमा प्रत्यक्ष नाराभन्दा कलात्मक संकेत र व्यञ्जनात्मक अभिव्यक्तिप्रतिको विश्वास रहेको देखिन्छ।

गजलकारको अर्को उल्लेखनीय प्रवृत्ति प्रश्नमार्फत चेतना जगाउने शैली हो। यस गजलका अधिकांश शेरहरू प्रश्नवाचक छन्। उनी आफैँ उत्तर दिनेभन्दा पाठकलाई उत्तर खोज्न प्रेरित गर्छन्। यस्तो शैलीले रचनालाई उपदेशात्मक हुनबाट बचाउँदै चिन्तनशील बनाएको छ। प्रश्न यहाँ केवल भाषिक संरचना होइन, प्रतिरोध र आत्मपरीक्षणको औजार बनेको छ।

हेमबाबु लेखकको लेखनमा लोकजीवन र लोकभाषाप्रतिको गहिरो प्रतिबद्धता पनि स्पष्ट देखिन्छ। उनले डोट्याली भाषाका मौलिक शब्द, मुहावरा र अभिव्यक्तिलाई कृत्रिम रूपमा होइन, स्वाभाविक रूपमा प्रयोग गरेका छन्। यसले उनको लेखन केवल भाषिक प्रयोगमा सीमित नभई मातृभाषा संरक्षण र त्यसको साहित्यिक प्रतिष्ठा विस्तार गर्ने अभियानसँग पनि जोडिएको संकेत गर्छ।

उनको लेखनमा राजनीतिक चेतना र सामाजिक उत्तरदायित्व सँगसँगै नैतिक तथा दार्शनिक दृष्टि पनि विद्यमान छ। गजलको अन्तिम शेरमा चित्रगुप्त र धर्मराजको प्रतीक प्रयोग गरेर उनले अन्ततः कर्म नै सर्वोपरि हुन्छ भन्ने सन्देश दिएका छन्। यसबाट स्पष्ट हुन्छ कि उनी तात्कालिक राजनीतिक टिप्पणीमै सीमित रहने स्रष्टा होइनन्; सामाजिक यथार्थलाई शाश्वत नैतिक मूल्यसँग जोडेर हेर्ने चिन्तक पनि हुन्।

समग्रमा, प्रस्तुत गजलले हेमबाबु लेखकलाई लोकभाषाको संवाहक, जनचेतनाका कवि, प्रखर व्यङ्ग्यकार, राष्ट्रिय सरोकारका साहित्यकार तथा सामाजिक उत्तरदायित्वबोध भएका दार्शनिक चिन्तनका स्रष्टाका रूपमा स्थापित गर्दछ।

हेमबाबु लेखकको व्यङ्ग्य कटु भए पनि अशिष्ट छैन।

उनले व्यक्तिलाई होइन, प्रवृत्तिलाई प्रहार गरेका छन्।

त्यसैले गजल क्षणिक राजनीतिक टिप्पणीमा सीमित नभई सामाजिक दस्तावेज बनेको छ।

नेपालको वर्तमान राजनीतिक अस्थिरता, अवसरवाद, भ्रष्टाचार, युवाको पलायन, राष्ट्रिय स्वाभिमानमाथिको चुनौती तथा नैतिक मूल्यहरूको ह्रासलाई हेर्दा यो गजल झन् बढी सान्दर्भिक देखिन्छ। यसका प्रश्नहरू आज पनि अनुत्तरित छन्, र यही कारणले यसको साहित्यिक आयु लामो रहने सम्भावना प्रबल छ।

उनको लेखनमा विद्रोह छ, तर अराजकता छैन; आक्रोश छ, तर अशिष्टता छैन; आलोचना छ, तर समाज सुधारको सकारात्मक आकाङ्क्षा पनि उत्तिकै सशक्त रूपमा उपस्थित छ। यही विशेषताले उनको लेखनलाई समकालीन डोट्याली साहित्यमा विशिष्ट र प्रभावशाली बनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एक झल्को हेर्नलाई बाटो कुरेका आँखाहरू!
विचार/ब्लग

एक झल्को हेर्नलाई बाटो कुरेका आँखाहरू!

असार ३२, २०८३
‘पागल’ हुने साहस : इन्जिनियर विवेक पन्तको काव्यचेतनाक इन्जिनियरिङ डाइग्नोसिस
विचार/ब्लग

‘पागल’ हुने साहस : इन्जिनियर विवेक पन्तको काव्यचेतनाक इन्जिनियरिङ डाइग्नोसिस

असार २४, २०८३
नेपाली र डोट्याली भाषाका अथक साधक : जगदीश ओझा ‘जगन्नाथ आत्रेय’
विचार/ब्लग

नेपाली र डोट्याली भाषाका अथक साधक : जगदीश ओझा ‘जगन्नाथ आत्रेय’

असार २१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्त नगरपालिका वडा नम्बर -१० मा ६ महिने कटाई-सिलाई तालिम सम्पन्न

भीमदत्त नगरपालिका वडा नम्बर -१० मा ६ महिने कटाई-सिलाई तालिम सम्पन्न

असार ३२, २०८३
कञ्चनपुरमा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको समन्वयात्मक बैठक: मनसुन पूर्वतयारी र पूर्वकार्यमा जोड

कञ्चनपुरमा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको समन्वयात्मक बैठक: मनसुन पूर्वतयारी र पूर्वकार्यमा जोड

असार ३२, २०८३
रोजगारीसँग नजोडिएका तालिम रोक्न श्रममन्त्रीको निर्देशन

रोजगारीसँग नजोडिएका तालिम रोक्न श्रममन्त्रीको निर्देशन

असार ३२, २०८३
नेपाल–जापान शैक्षिक सहकार्यबारे शिक्षामन्त्री र जापानी राजदूतबीच छलफल

नेपाल–जापान शैक्षिक सहकार्यबारे शिक्षामन्त्री र जापानी राजदूतबीच छलफल

असार ३२, २०८३
डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, ५ बुँदे प्रतिबद्धता सार्वजनिक

डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न, ५ बुँदे प्रतिबद्धता सार्वजनिक

असार ३२, २०८३
सुनको भाउ बढ्यो, तोलाको २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार

सुन महँगियो, चाँदीको मूल्य घट्यो

असार ३२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व