कञ्चनपुर । कञ्चनपुरमा सम्भावित बाढी तथा अन्य जलवायुजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि ३३० घरधुरीलाई रू ५ हजारका दरले नगद सहायता प्रदान गरिएको छ। जिल्लाको लालझाडी गाउँपालिकाका १५६ तथा पुनर्वास नगरपालिकाका १७४ गरी जम्मा ३३० संकटासन्न घरधुरीलाई बाढीको जोखिम न्यूनीकरणका लागि पूर्वकार्य अन्तर्गत नगद सहायता प्रदान गरिएको हो। गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण दुवै स्थानीय तहमा पूर्वनिर्धारित ट्रिगर पूरा भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जानकारी गराई सम्भावित बाढी तथा अन्य जलवायुजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि यी घरधुरीलाई राहत एप मार्फत व्यक्तिगत खातामा नगद वितरण गरिएको हो।
मर्सिकोर नेपालद्वारा स्थानीय पालिकाहरूको समन्वयमा समुदाय स्तरमा बाढीजन्य सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वकार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्न समुदाय स्तरमा नगद सहायता प्रदान गरिएको हो। यस कार्यमा नेपाल राष्ट्रिय समाज कल्याण संघद्वारा सञ्चालित सान परियोजना तथा सेवक नेपालद्वारा सञ्चालित एमरेड परियोजनाको समन्वय र सहकार्य रहेको थियो।
पुनर्वास नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति ओमनाथ ढकालले गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण दोदा नदीको जलस्तर उच्च भई आसपासका समुदायहरू बाढी तथा डुबानको उच्च जोखिममा रहेकाले उनीहरूलाई पूर्वकार्यका लागि प्रति परिवार रू ५ हजारका दरले नगद सहायता प्रदान गरिएको बताउनुभयो। उहाँले यस नगद सहायताले समुदायका व्यक्तिहरूले आवश्यक खाद्यान्न, औषधि, पशुचौपायाको दाना, सुरक्षित स्थानमा बसाइँसराई तथा अन्य अत्यावश्यक तयारी गर्न सहजता हुने जानकारी दिनुभयो।
नगद सहायता प्राप्त गरेपछि पुनर्वास नगरपालिकाका स्थानीय बासिन्दा राम अवतार रानाले बाढी आउनु अगावै प्राप्त भएको यस नगद सहयोगले आफूहरूलाई खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको पूर्वतयारी गर्न र सुरक्षित स्थानमा जानका लागि ठूलो राहत मिलेको बताउनुभयो। संकटको घडीमा विपद् आउनु पूर्व नै हातमा रकम पर्दा क्षति कम गर्न र परिवारको जिउज्यान जोगाउन यसले एउटा बलियो सहाराको रूपमा काम गरेको भन्दै रानाले खुसी समेत व्यक्त गर्नुभयो।
स्थानीय सरकार र दातृ निकायको यस्तो पूर्वतयारी तथा आपसी समन्वयले विपद्को समयमा समुदायको सुरक्षा सुनिश्चित गर्नुका साथै जोखिम न्यूनीकरणमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।










Discussion about this post