नेपालमा विदेशी पर्यटकको आगमन बढ्दै जाँदा तारेस्तरका होटल तथा रिसोर्टमा लगानी पनि उल्लेख्य रूपमा विस्तार भएको छ।
पर्यटन विभागका अनुसार हाल देशभर ३५० वटा तारेस्तरका होटल तथा रिसोर्ट सञ्चालनमा छन्। यो संख्या गत वर्षको ३३५ को तुलनामा बढेको हो। सञ्चालनमा रहेका होटलमध्ये २९ वटा पाँचतारे होटल रहेका छन्।
हाल सञ्चालनमा रहेका तारे होटल तथा रिसोर्टमा १६ हजार ६१३ कोठा र २६ हजार २८५ शय्याको व्यवस्था रहेको विभागले जनाएको छ। काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगञ्ज र भद्रपुरलगायत प्रमुख पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट खुल्ने क्रम बढिरहेको छ।
पर्यटन विभागले अन्तर्राष्ट्रिय मापदण्ड र इको–टुरिजमलाई समेट्दै होटल वर्गीकरण मापदण्ड परिमार्जनको काम अन्तिम चरणमा पुगेको जनाएको छ। परिमार्जित मस्यौदा यही असार मसान्तभित्र मन्त्रालयमा बुझाइने तयारी गरिएको छ।
होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले तारे होटलको संख्या बढ्नु नेपालप्रति विदेशी पर्यटकको आकर्षण र लगानीकर्ताको विश्वास बढेको संकेत भएको बताउनुभयो। उहाँका अनुसार भारतीय पर्यटकको बढ्दो आगमन, पर्यटनमैत्री वातावरण र अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनले पर्यटन उद्योग अझ विस्तार हुने अपेक्षा गरिएको छ।
होटल व्यवसायीहरूका अनुसार बढ्दो लगानीले रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै पर्यटन पूर्वाधार विकासमा सकारात्मक योगदान पुर्याएको छ। अन्तर्राष्ट्रिय होटल ब्रान्डको प्रवेशसँगै नेपाली होटल उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि थप सुदृढ बन्दै गएको उनीहरूको भनाइ छ।
कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र पुनः लयमा फर्किएको छ। सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ र सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल आएका थिए। चालु वर्षको जुनसम्म पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिसकेका छन्।










Discussion about this post