मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीहरूको नेपाल–चीन सीमा रसुवागढी नाकामा पछिल्ला दिनहरूमा भीडभाड बढ्न थालेको छ। छोटो, सहज र सुविधाजनक मार्ग भएकाले यस नाकाबाट यात्रा गर्ने यात्रुहरूको चाप उल्लेखनीय रूपमा वृद्धि भएको हो।
अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीका अनुसार सन् २०२६ को जनवरीदेखि जुन १४ सम्मको अवधिमा रसुवागढी नाकाबाट १७ हजार २४१ जना यात्रु चीनतर्फ प्रस्थान गरेका छन्। तीमध्ये भारत, नेपाल, अमेरिका, रूस, अष्ट्रेलिया, भुटान, युके, मलेसिया र जर्मनीका नागरिकहरू रहेका छन्।
कार्यालयका अनुसार चीन प्रवेश गर्ने अधिकांश यात्रुहरू मानसरोवर–कैलास यात्राका लागि जाने गरेका छन्। तथ्याङ्क अनुसार मार्चसम्म ८१२ जना यात्रु प्रस्थान गरेका थिए भने अप्रिल १४ सम्म यो संख्या बढेर १४ हजार २४० पुगेको थियो। हालसम्म कुल १७ हजार २४१ यात्रु चीनतर्फ गइसकेका छन्।
काठमाडौँ विमानस्थलदेखि टिमुरेको घट्टेखोला क्षेत्रसम्म केही यात्रुहरूले हेलिकोप्टर सेवा प्रयोग गर्ने गरेका छन्। टिमुरे हेलिप्याडका व्यवस्थापक सोनाम वाङ्दी तामाङका अनुसार काठमाडौँबाट करिब १० घण्टामा सडकमार्ग हुँदै रसुवागढी पुग्न सकिने तथा हेलिकोप्टरमार्फत करिब आधा घण्टामै पुग्न सकिने भएकाले यात्रुहरूले यस मार्गलाई प्राथमिकता दिन थालेका छन्।
यात्रुहरूको चाप बढेसँगै रसुवागढी अध्यागमन कार्यालयमा सेवा प्रवाह व्यवस्थापनमा थप चुनौती देखिन थालेको छ।







Discussion about this post