दार्चुला । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा अपि हिमाललाई स्थापित गर्ने उद्देश्यसहित दार्चुलाको अपि हिमाल गाउँपालिकामा कात्तिक १७ देखि १९ गतेसम्म तीनदिने पर्यटन उत्सव आयोजना हुने भएको छ ।
‘अपि हिमाल पर्यटन उत्सव’ मार्फत प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, साहसिक पर्यटन र स्थानीय संस्कृतिको प्रवर्द्धन गरिने गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिनुभयो । उत्सव अपि हिमाल गाउँपालिका–१ स्थित अपि हिमाल आधार शिविरको पिलकन्दमा आयोजना हुनेछ ।
गाउँपालिकाका अनुसार पर्यटन गतिविधि विस्तार, स्थानीय उत्पादनको प्रवर्द्धन तथा रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको हो । यसले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउनसमेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
पछिल्लो समय अपि हिमालमा वार्षिक पाँच हजारभन्दा बढी पर्यटक पुग्ने गरेका छन् । यस वर्ष पर्यटकको सङ्ख्या बढाएर १० हजार पुर्याउने लक्ष्य गाउँपालिकाले लिएको अध्यक्ष बोहराले बताउनुभयो ।
अपि हिमाल सरकारले पहिचान गरेका सय पर्यटकीय गन्तव्यमध्ये एक हो । यहाँको पर्यटन विकासका लागि गाउँपालिकाले पदमार्ग विस्तार, पर्यटन पूर्वाधार निर्माण तथा पर्यटकीय गतिविधि बढाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
तीनदिने उत्सवले अपि हिमालको प्राकृतिक तथा सांस्कृतिक पहिचान उजागर गर्नुका साथै स्थानीय समुदायको जीवनस्तर सुधार र पर्यटन व्यवसायको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।










Discussion about this post