काठमाडौँ । नेपाल–चीन व्यापारको प्रमुख नाका तातोपानीलाई नियमित सञ्चालनमा ल्याउन माग गरिएको छ। कात्तिक १ गतेदेखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा ल्याइएको नाकाबाट दुई दिनमा २८ वटा मालवाहक कन्टेनर मात्रै नेपाल भित्रिएका छन्।
नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार चीनको न्यालम क्षेत्रमा दशैँ, तिहारलगायत चाडपर्वका लागि ल्याइएका सामान बोकेका ४५ भन्दा बढी कन्टेनर रोकिएका छन्। नाका सीमित समयका लागि मात्रै सञ्चालन हुँदा ती सामग्री नेपाल भित्र्याउन समस्या भएको उहाँले बताउनुभयो।
सीमामा रोकिएका कन्टेनरमा नाशवान् वस्तु, कृषिजन्य उत्पादन तथा चाडपर्व लक्षित व्यापारिक सामग्रीसमेत रहेकाले तत्काल नाका नियमित सञ्चालन गर्न आवश्यक रहेको संघको भनाइ छ। यस विषयमा संघले चीन सरकार र नेपालस्थित चिनियाँ दूतावासलाई ध्यानाकर्षण पत्र बुझाइसकेको छ।
तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नरेन्द्रसिंह चैसिरका अनुसार आइतबार तीन र सोमबार २५ गरी दुई दिनमा २८ वटा कन्टेनर नेपाल भित्रिएका हुन्।
सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माका अनुसार हाल चीनले ठूला मालवाहक कन्टेनरलाई मात्रै प्रवेश अनुमति दिएकाले साना कन्टेनर आउन सकेका छैनन्। नेपाल भित्रिएका कन्टेनरमा फलफूल, जुत्ता, तयारी पोशाक तथा कृषिजन्य सामग्री रहेका छन्।
अन्य नाकाको सञ्चालनमा समेत समस्या रहेका बेला दुई देशबीचको व्यापार सहज बनाउन तातोपानी नाका नियमित सञ्चालन गर्नुपर्ने व्यवसायीहरूले माग गरेका छन्।










Discussion about this post