काठमाडौँ । जापानले मङ्गल ग्रहको उपग्रह ‘फोबोस’बाट धुलो तथा चट्टानका नमुना सङ्कलन गरी पृथ्वीमा ल्याउने उद्देश्यसहित अन्तरिक्ष अभियान अघि बढाएको छ। अभियान सफल भएमा मङ्गल ग्रहका उपग्रहबाट नमुना ल्याएर पृथ्वीमा परीक्षण गर्ने पहिलो प्रयास सफल हुनेछ।
जापानी अन्तरिक्ष एजेन्सीको नेतृत्वमा सञ्चालन हुने मार्स मुन एक्सप्लोरेसन (एमएमएक्स) मिसनले मङ्गलका उपग्रह फोबोस र डिमोसको उत्पत्ति तथा निर्माण प्रक्रियाबारे अध्ययन गर्ने लक्ष्य राखेको छ।
बीबीसीका अनुसार अन्तरिक्ष यान सन् २०२७ को अगस्टमा फोबोस पुग्ने तालिका छ। त्यहाँ पुगेपछि रोभरले अवतरणका लागि उपयुक्त स्थान पहिचान गर्नेछ। त्यसपछि अन्तरिक्ष यानले रोबोटिक हात र नमुना सङ्कलकको सहायताले फोबोसको सतहबाट धुलो तथा अन्य सामग्री सङ्कलन गर्नेछ।
सङ्कलित नमुनालाई विशेष क्याप्सुलमा सुरक्षित राखेर पृथ्वीमा ल्याइनेछ। योजना अनुसार सन् २०३१ मा उक्त क्याप्सुल दक्षिण अस्ट्रेलियाको वुमेरा क्षेत्रमा अवतरण गर्नेछ। यस अभियानबाट करिब १० ग्राम नमुना ल्याउने लक्ष्य राखिएको छ।
मङ्गलका उपग्रह कसरी बने भन्ने रहस्य सुल्झाउन र सौर्यमण्डलको विकासक्रम बुझ्न यो अभियान महत्त्वपूर्ण हुने वैज्ञानिकहरूको अपेक्षा छ।










Discussion about this post