काठमाडौँ । विभिन्न जिल्लामा आँखा पाक्ने रोगको संक्रमण देखिएपछि स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ। एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने भएकाले व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य विशेषज्ञले सुझाव दिएका छन्।
मनसुनको समयमा सुरु भएको आँखा पाक्ने समस्या लामो समयसम्म कायम रहँदा संक्रमणको जोखिम बढेको विशेषज्ञहरूले बताएका छन्। दशैँका बेला हुने आवतजावत, नोटको आदानप्रदान, अरूको मोबाइल प्रयोग गर्ने बानी तथा सरसफाइमा हुने लापरबाहीले संक्रमण फैलिन सक्ने उनीहरूको भनाइ छ।

आँखा पाक्ने रोग लाग्दा आँखा रातो हुने, चिलाउने, आँसु बग्ने, कचेरा निस्कने, आँखाको ढकनी सुन्निने तथा उज्यालोमा हेर्न गाह्रो हुनेजस्ता लक्षण देखिन सक्छन्। सामान्यतया एकदेखि दुई हप्तामा निको हुन सक्ने यो समस्या केही व्यक्तिमा निको हुन तीन हप्तासम्म लाग्न सक्छ।
तिलगंगा आँखा अस्पतालकी युभिआइटिस विशेषज्ञ प्रा. डा. अनु मानन्धरका अनुसार संक्रमणबाट बच्न संक्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, सिरानी तथा अन्य व्यक्तिगत सामग्री प्रयोग गर्नु हुँदैन। आँखा छुनुअघि र छोइसकेपछि साबुनपानीले राम्ररी हात धुने र व्यक्तिगत सरसफाइमा ध्यान दिने बानीले संक्रमण फैलिने जोखिम कम गर्न सकिन्छ।
आँखामा अत्यधिक दुखाइ हुने, दृष्टि धमिलो हुने वा उज्यालो सहन नसक्ने समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीको परामर्श लिन विशेषज्ञले सुझाव दिएका छन्।
स्वास्थ्य मन्त्रालयले पनि व्यक्तिगत सरसफाइ कायम राख्न, संक्रमणका लक्षण देखिएमा समयमै स्वास्थ्य सेवा लिन तथा रोग फैलिन नदिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।










Discussion about this post