बर्खा सुरु भएसँगै पश्चिम बागलुङका उच्च पहाडी भेगमा चहलपहल बढ्न थालेको छ। हिउँदमा बेँसी झरेका गोठालाहरू अहिले फेरि लेकतर्फ लाग्दै पाटन र बुकीपाटन उक्लिन थालेका छन्।
बागलुङको निसीखोला, ढोरपाटन, तमानखोला र गलकोट क्षेत्रका अधिकांश किसान पशुपालनमै निर्भर छन्। एउटै परिवारले धेरै संख्यामा वस्तुभाउ पाल्ने भएकाले बेँसीको घाँसले मात्र नपुग्ने हुँदा वर्षेनि लेक–बेँसी गर्ने परम्परा यहाँको जीवनशैली बनेको छ।
गोठालाहरू झण्डै चार महिनासम्म समुद्री सतहदेखि करिब ३ हजारदेखि ४ हजार ८ सय मिटर उचाइका बुकीपाटन र आसपासका चरन क्षेत्रमा बस्नेछन्। पर्याप्त घाँस उपलब्ध हुने भएकाले उनीहरू लामो समयसम्म त्यहीँ वस्तुभाउ चराउने गर्छन्।
लेक उक्लँदा गोठालाहरूले असोजसम्म पुग्ने खाद्यान्न, लत्ताकपडा र दैनिक आवश्यक सामग्री बोकेर जाने गर्छन्। यस अवधिमा टेलिफोन र विद्युत् सुविधा नहुने भएकाले परिवारसँगको सम्पर्क पनि सीमित हुन्छ।
आकस्मिक बिरामी वा खर्च सकिए मात्र उनीहरू बेँसी फर्कने गर्छन्। ढोरपाटन बुकीपाटन क्षेत्रमा भने अहिले नै बागलुङसँगै रोल्पा, रुकुम, म्याग्दी र डोल्पासम्मका गोठालाहरू भेडासहित पुग्न थालेका छन्।








Discussion about this post