काठमाडौं । प्राविधिक समस्याका कारण सोमबार स्थगित भएको सेयर कारोबार आजदेखि नियमित रूपमा सञ्चालन हुने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार बिहान सूचना जारी गर्दै डेटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भइसकेकाले कारोबार नियमित हुने जनाएको हो।
नेप्सेका अनुसार ७२ वटा ब्रोकर कम्पनीको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) को ब्याकअप राखिएको डेटा हब प्रालिको डेटा सेन्टरमा प्राविधिक समस्या आएपछि सोमबारको कारोबार स्थगित गरिएको थियो। हाल नेप्सेमा ९० वटा ब्रोकर कम्पनी सञ्चालनमा रहेकामा ७२ वटा ब्रोकरको तथ्यांक डेटा हबमा व्यवस्थापन हुँदै आएको छ।
यस घटनाबारे नेपाल धितोपत्र बोर्डले छानबिन गर्ने भएको छ। बोर्डका अध्यक्ष गोपाल भट्टका अनुसार घटनाको अध्ययन तथा जाँचबुझ गर्न टोली खटाउने निर्देशन दिइएको छ। साथै, कारोबार रोक्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा अध्ययन गरी भविष्यमा यस्ता समस्या दोहोरिन नदिन आवश्यक सुधारसहितको प्रतिवेदन पेस गर्न नेप्सेलाई निर्देशन दिइएको छ।
सेयर बिक्रीमा पुँजीगत लाभकरको दर हेरफेर
यसैबीच, सेयर बिक्री गर्दा लाग्ने पुँजीगत लाभकरको दरमा पनि हेरफेर भएको छ। सोमबार राजपत्रमा प्रकाशित सूचनाअनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीको सेयर बिक्रीबाट प्राकृतिक व्यक्तिले प्राप्त गर्ने लाभमा स्वामित्व अवधिका आधारमा फरक–फरक कर लाग्ने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थाअनुसार एक वर्षभन्दा बढी अवधिसम्म स्वामित्वमा राखिएको सेयर बिक्रीबाट प्राप्त लाभमा ३.७५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ। त्यस्तै, ३६५ दिन वा सोभन्दा कम अवधिसम्म स्वामित्वमा रहेको सेयर बिक्रीबाट प्राप्त लाभमा ५ प्रतिशत कर लाग्नेछ।
यसअघि दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत र अल्पकालीन कारोबारीले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका थिए। नेपाल सरकारले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१०) ले दिएको अधिकार प्रयोग गरी करका नयाँ दर लागू गरेको राजपत्रमा उल्लेख छ।










Discussion about this post