आज जुन १४ का दिन ‘विश्व रक्तदाता दिवस’ विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ भन्ने नारासहित मनाइने यस दिवसको उद्देश्य सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे जनचेतना फैलाउनु र स्वैच्छिक तथा निःशुल्क रक्तदाताप्रति सम्मान व्यक्त गर्नु हो।
हरेक वर्ष यस दिनलाई विश्वभर सुरक्षित रगत आपूर्तिको महत्व उजागर गर्दै रक्तदानलाई प्रोत्साहन गर्ने अवसरका रूपमा मनाइन्छ।
World Health Organization का अनुसार पछिल्लो दशकमा सुरक्षित रगत आपूर्तिमा उल्लेखनीय सुधार भए पनि विश्वभर यसको पहुँचमा अझै ठूलो असमानता कायम छ। १३२ देशबाट सङ्कलित तथ्याङ्कअनुसार सन् २०१३ देखि २०२३ सम्म विश्वव्यापी रक्त सङ्कलन झण्डै १९ प्रतिशतले वृद्धि भएको छ।
सन् २०२३ मा अनुमानित १२ करोड रक्तदानमध्ये ८५ प्रतिशतभन्दा बढी योगदान स्वैच्छिक तथा निःशुल्क रक्तदाताबाट प्राप्त भएको तथ्याङ्कले देखाएको छ। तर, सुरक्षित रगतको उपलब्धता सबै देश र क्षेत्रहरूमा समान छैन।
विशेषगरी कम आय भएका देशहरूमा प्रसूतिको समयमा अत्यधिक रक्तस्राव हुने महिला, गम्भीर रक्तअल्पताबाट पीडित बालबालिका, दुर्घटना तथा आगलागीका घाइते, शल्यक्रिया गराइरहेका बिरामी तथा थालासेमिया, हेमोफिलिया, रोग प्रतिरोधात्मक कमजोरी र क्यान्सरजस्ता रोगका बिरामीहरूले आवश्यक समयमा रगत नपाउने समस्या अझै गम्भीर रूपमा देखिएको छ।
Tedros Adhanom Ghebreyesus ले सुरक्षित रगतको अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भन्ने लक्ष्य व्यक्त गर्दै स्वैच्छिक रक्तदाताको सहभागिता बढे पनि देश र बसोबासअनुसार रक्तसञ्चार सेवामा पहुँचमा ठूलो भिन्नता रहेको उल्लेख गरेका छन्। उनले सरकारहरूलाई दिगो राष्ट्रिय रक्त प्रणाली निर्माण गर्न र स्वैच्छिक रक्तदानलाई प्रोत्साहन गर्न आवश्यक लगानी बढाउन आग्रह गरेका छन्।
World Health Organization का अनुसार विश्व जनसङ्ख्याको करिब १५ प्रतिशत मात्र रहेका उच्च आय भएका देशहरूले विश्वको कुल रक्तदानको करिब ३६ प्रतिशत हिस्सा संकलन गर्छन्। यसको विपरीत, सीमित स्रोत, कमजोर पूर्वाधार, ढुवानी तथा व्यवस्थापनका चुनौती र रक्तदाताको अभावका कारण कम आय भएका देशहरूमा रगत आपूर्ति अझै अपुग रहेको छ।
यस अवसरमा सुरक्षित रगत आपूर्ति प्रणाली सुदृढ बनाउन तथा स्वैच्छिक रक्तदानलाई व्यापक बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको स्वास्थ्य विज्ञहरूले जोड दिएका छन्।










Discussion about this post