काठमाडौँ — राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक गणनामा सहभागी व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क प्रशोधन कार्यलाई तीव्रता दिएको छ। कार्यालयले प्रविष्ट भएका विवरणमा देखिएका त्रुटि, दोहोरिएका तथ्याङ्क तथा नमिलेका अङ्क सच्याउँदै तथ्याङ्कको गुणस्तर सुनिश्चित गर्ने काम गरिरहेको जनाएको छ।
गणना शाखाका निर्देशक डा. वेदप्रसाद ढकालका अनुसार आर्थिक गणनामा सहभागी करिब १३ लाख ६६ हजार व्यावसायिक प्रतिष्ठानको तथ्याङ्क विभिन्न चरणमा प्रशोधन भइरहेको छ।
गत वैशाख २ गतेदेखि असार ७ गतेसम्म सञ्चालन भएको आर्थिक गणनाबाट सङ्कलित तथ्याङ्कलाई प्रतिष्ठानको प्रकृति र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मापदण्डका आधारमा कोडिङ गरिँदैछ। साथै, कागजी तथा डिजिटल फारममा सङ्कलित विवरणलाई केन्द्रीकृत सफ्टवेयर तथा डेटाबेसमा प्रविष्ट गर्ने काम पनि जारी छ।
हालसम्म झण्डै २ लाख प्रतिष्ठानको तथ्याङ्क प्रविष्टि भइसकेको छ भने करिब ६ लाख प्रतिष्ठानको कोडिङ सम्पन्न भएको कार्यालयले जनाएको छ।
आर्थिक गणनामा व्यावसायिक कृषि, खानी, उत्पादन तथा उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीसहितका वित्तीय संस्था र अन्य सेवामूलक प्रतिष्ठानका विवरण समेटिएका छन्। ती क्षेत्रका प्रतिष्ठानको सङ्ख्या तथा अन्य विवरण छुट्टाछुट्टै वर्गीकरण गरी प्रशोधन गरिनेछ।
तथ्याङ्क प्रविष्टि तथा प्रशोधनका लागि कार्यालयले करिब २ सय जनशक्ति परिचालन गरेको छ। सम्पूर्ण प्रक्रिया पूरा भएपछि तयार हुने प्रतिवेदनबाट नेपालको आर्थिक अवस्था र विकाससम्बन्धी योजना निर्माणका लागि आवश्यक महत्त्वपूर्ण तथ्याङ्क उपलब्ध हुने अपेक्षा गरिएको छ।










Discussion about this post