कञ्चनपुर । विपद् व्यवस्थापनका क्षेत्रमा निर्णय प्रक्रियालाई अझ परिपक्व र भरपर्दो बनाउन सूचना प्रविधिको आधुनिक प्रयोगलाई जोड दिँदै कञ्चनपुरको पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकामा ‘AI-Fellows Orientation Workshop (AI4Ready)’ कार्यशाला भव्य रूपमा सम्पन्न भएको छ।

पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाको संयुक्त आयोजना तथा मर्सीकोर नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र द कोकाकोला फाउन्डेसनद्वारा संयुक्त रूपमा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण’ (सान) परियोजनाको सहकार्यमा उक्त कार्यशाला सञ्चालन गरिएको हो।

विपद्को समयमा निर्णय लिन सघाउने प्रणाली अर्थात् डिसिजन सपोर्ट सिस्टम (Decision Support System – DSS) लाई अझ सुदृढ र प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त विशेष प्राविधिक अभिमुखीकरण आयोजना गरिएको हो। कार्यशालामा दुवै पालिकाका सूचना प्रविधि (आइटी) अधिकृत, विपद् सम्पर्क व्यक्ति र योजना अधिकृतहरूको सहभागिता रहेको थियो। यसका साथै पालिकाभित्रका विपद् जोखिमयुक्त क्षेत्रका सूचना प्रविधि अध्ययन गरेका ४–४ जना नागरिक र जोखिममा रहेका समुदायका आईटी क्षेत्रमा विशेष चासो भएका ३–३ जना स्थानीय युवाहरूको कार्यशालामा सहभागिता रहेको थियो।

कार्यशालामा विपद्जन्य जोखिमका सूचनाहरू कसरी प्राप्त हुन्छन्, प्राप्त सूचना तथा तथ्याङ्कहरूलाई कुन माध्यमबाट सुरक्षित र व्यवस्थित तरिकाले भण्डारण गर्ने, आगामी दिनहरूमा समुदाय स्तरबाट कसरी प्रतिक्रिया (Feedback) सङ्कलन गर्ने र त्यसलाई प्रणालीमा प्रविष्ट गर्ने भन्नेबारे विस्तृत प्राविधिक अभ्यास गराइएको थियो।

आगामी सेप्टेम्बर महिनाभित्र पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिका दुवै स्थानीय तहमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) मा आधारित आधुनिक डिजिटल प्रणाली पूर्ण रूपमा तयार पारी लागू गर्ने लक्ष्यका कार्य अगाडि बढाइएको छ।

सान परियोजनाका संयोजक देवराज बडुले परम्परागत शैलीको विपद् प्रतिकार्य भन्दा प्रविधियुक्त र पूर्वानुमानमा आधारित पूर्वकार्य निकै प्रभावकारी हुने बताउनुभयो। उहाँले आगामी सेप्टेम्बरसम्म दुवै पालिकामा एआई प्रणाली जडान भइसकेपछि बाढी तथा अन्य विपद्को पूर्वसूचना प्राप्त गर्न, क्षति न्यूनीकरणका लागि तत्काल सही निर्णय लिन र राहत तथा उद्धार कार्यलाई व्यवस्थित बनाउन यो प्रविधि कोसेढुङ्गा सावित हुने बताउनुभयो।
प्रविधिको उच्चतम प्रयोगमार्फत स्थानीय तहको विपद् जोखिम न्यूनीकरण क्षमतालाई दिगो बनाउन आयोजित यस कार्यशालाले समुदाय स्तरसम्मै डिजिटल सचेतना र प्राविधिक तत्परता बढाएको सहभागीहरूले बताएका छन्।










Discussion about this post