पोखरा, १६ माघ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सहिदका आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ ।
सहिद दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले राष्ट्र, राष्ट्रियता, समानता, स्वतन्त्रता, नागरिक हक अधिकारको रक्षा, लोकतन्त्रको स्थापना लगायतका न्यायपूर्ण आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने सम्पूर्ण अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले विभिन्न आन्दोलनका क्रममा घाइते योद्धाहरूको स्वास्थ्यलाभ र दीर्घ जीवनको कामना पनि व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा उल्लेख छः ‘माघ १६, सहिद दिवस नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताको लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूप्रति विशेष सम्मान र स्मरण गर्ने दिन हो । आजको दिन देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति सहिदहरूले देख्नुभएको सपना र लिनुभएको अठोटलाई पूरा गर्न सङ्कल्प गर्ने दिन पनि हो ।’
महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ लगायतको बलिदानद्वारा प्राप्त भएको प्रजातन्त्रदेखि इतिहासको विभिन्न कालखण्डमा महान योद्धाहरूको योगदानले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास उहाँको छ ।
यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने शुभकामना पनि उहाँले व्यक्त गर्नुभएको छ ।











Discussion about this post