काठमाडौं : कात्तिक शुक्ल एकादशीका दिन शनिबार हरिबोधिनी एकादशी पर्व मनाइएको छ। भगवान विष्णुको प्रतिकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइएको हो।
असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले यस दिनलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा हरिबोधिनी एकादशीका दिनमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर विवाह गरिन्छ।
तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको बूढानीलकण्ठ नारायणस्थान मन्दिरका मठाधीश एवं संरक्षक श्री १००८ स्वामी निगमानन्द गिरीजी महाराजले जानकारी दिए।
हरिबोधिनी एकादशीका अवसरमा काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौंका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लागेको छ।
यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा पनि शनिबारदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला सुरु भएको छ।
काठमाडौंको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ। अन्नपूर्ण पोष्ट










Discussion about this post