काठमाडौं । युरोपेली संघ (ईयू) का पाँच देशले सन् २०२७ देखि अफ्रिकी मुलुक रुवान्डामा आप्रवासी फिर्ती केन्द्र सञ्चालन गर्ने भएका छन्।
जर्मनी, डेनमार्क, अस्ट्रिया, ग्रीस र नेदरल्यान्ड्सले संयुक्त रूपमा यस्तो योजना सार्वजनिक गरेको बीबीसीले जनाएको छ।
योजनाअनुसार आफ्ना देशमा अवैध रूपमा बसिरहेका तथा देश निकाला गर्नुपर्ने तर आफ्नै देश फर्काउन नसकिने आप्रवासीलाई रुवान्डा पठाइनेछ। रुवान्डा पुगेपछि उनीहरूले त्यहाँको समाजमा घुलमिल भएर बस्न वा आफ्नै देश फर्किन सक्ने व्यवस्था गरिने जनाइएको छ।
सुरुमा परीक्षणका रूपमा सञ्चालन गरिने यस केन्द्रमा करिब एक सय आप्रवासीलाई राख्न सकिने बताइएको छ।
तर, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले उक्त योजनाको आलोचना गर्दै यसमा मानवता र भविष्य नदेखिएको टिप्पणी गरेका छन्। मानवअधिकारवादी संस्थाहरूले पनि यसले आप्रवासीको अधिकार उल्लङ्घन हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
यद्यपि, पाँच युरोपेली देशले भने यस योजनाले युरोपेली संघको शरण प्रणाली व्यवस्थित बनाउन र मानव तस्करी नियन्त्रण गर्न सहयोग पुग्ने दाबी गरेका छन्।










Discussion about this post