काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको साविक विजेता लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले ब्याटिङको जिम्मेवारी पाएको हो।
यस खेलका लागि लुम्बिनीले अघिल्लो खेलको प्लेइङ–११ मा कुनै परिवर्तन गरेको छैन। यता सुदूरपश्चिमले भने टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ।
सुदूरपश्चिमले दीपक बोहराको स्थानमा अविनाश बोहरालाई टोलीमा समावेश गरेको छ। त्यस्तै, फाबियन एलन र ब्रान्डन म्याकमुलेनको स्थानमा थनुका दबारे र जर्ज मन्सेलाई पहिलो रोजाइमा अवसर दिएको छ।
स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेन आईएल टी–२० प्रतियोगितामा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) गएपछि उनको स्थानमा स्कटल्यान्डकै जर्ज मन्सेले टोलीमा स्थान बनाएका हुन्।
पहिलो क्वालिफायरको विजेता टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ।










Discussion about this post