काठमाडौं । मुक्तिनाथबाट गत कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सम्पन्न भएको छ। देशका विभिन्न धार्मिकस्थलको परिक्रमा गर्दै पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म पुगेको रथयात्रा सोमबार नवलपुरस्थित गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) आइपुगेपछि सम्पन्न भएको हो।
मुक्तिनाथ पीठाधीश्वर मुक्तिनाथबाबा (स्वामी कमलनयनाचार्य)को सत्सङ्कल्पमा सुरु गरिएको रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गरी पुनः त्रिवेणीधाम आइपुगेको रथयात्राका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुभयो।
रथयात्राका क्रममा देशका विभिन्न स्थानबाट मेची र महाकालीको जल सङ्कलन गरिएको र उक्त जल गण्डकी नदीमा अर्पण गरिने प्रवक्ता प्रपन्नाचार्यले बताउनुभयो। रथयात्राको स्वागत तथा दर्शनका लागि विभिन्न स्थानमा भक्तजनको उल्लेख्य सहभागिता रहेको उहाँले जानकारी दिनुभयो।
रथयात्रा सम्पन्न भएसँगै आजदेखि त्रिवेणीधाममा एकमहिने श्रीगजेन्द्रमोक्ष दिव्यधाम विराट महायज्ञ सुरु हुँदैछ।
महायज्ञको पहिलो दिन बिहान ८ बजे गौशालामा सामूहिक गौपूजा, ९ बजे गण्डकी पूजन र १० बजे बाजागाजा तथा भजनकीर्तनसहित कलश यात्रा गर्ने कार्यक्रम रहेको छ। गण्डकी नदीको तट हुँदै धामको परिक्रमा गरी कलश यात्रा यज्ञस्थलमा पुग्नेछ।
त्यसपछि भगवान् मुक्तिनाथको सन्निधिमा सामूहिक सङ्कल्प, कन्या पूजा तथा दीप प्रज्वलन गरिनेछ। बिहान ११ः३५ बजे दीप प्रज्वलन गरी महायज्ञको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको प्रवक्ता प्रपन्नाचार्यले बताउनुभयो।
मुक्तिनाथबाबा स्वामी कमलनयनाचार्यका अनुसार एकमहिने महायज्ञमा धान्याचल, पितृमुक्ति यज्ञ, हवन तथा भागवत प्रवचनलगायत धार्मिक अनुष्ठान सञ्चालन गरिनेछ।
प्राकृतिक विपत्ति, सडक दुर्घटना, आन्दोलन, अतिवृष्टि, अनावृष्टि तथा कोरोना महामारीलगायत विभिन्न कारणले दिवङ्गत भएका आत्माहरूको उद्धार र शान्तिको कामनासहित पितृमुक्ति महायज्ञ आयोजना गर्न लागिएको उहाँले बताउनुभयो।
उहाँले महायज्ञमा सहभागी भई यज्ञशालाको परिक्रमा, जप तथा ध्यान गर्न भक्तजनलाई आग्रह गर्नुभएको छ।
नवलपरासीको त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा एक महिनासम्म सञ्चालन हुने महायज्ञको अर्को महत्वपूर्ण उद्देश्य नेपालमा वैदिक विश्वविद्यालय स्थापना गर्नु रहेको स्वामी कमलनयनाचार्यले जानकारी दिनुभयो।
महायज्ञमा सहभागी भई धार्मिक अनुष्ठान तथा पूजापाठमा संलग्न हुन देशभरका भक्तजनलाई आयोजकले आग्रह गरेको छ।
(रासस)










Discussion about this post