काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपालसहित तीन देशले अघि सारेको पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी प्रस्तावले स्थान पाएको छ।
टर्कीको अन्ताल्यामा जारी सम्मेलनमा नेपाल, भुटान र किर्गिजस्तानले संयुक्त रूपमा प्रस्तुत गरेको प्रस्तावलाई सम्मेलनको ‘कभर डिसिजन’को मस्यौदामा समेटिएको हो।
‘कभर डिसिजन’ सम्मेलनको अन्त्यमा जारी गरिने समग्र राजनीतिक दस्तावेज हो। यसले वार्ताका विभिन्न विषय र निष्कर्षलाई एकीकृत गर्दै सम्मेलनको समग्र राजनीतिक दिशा, सन्देश तथा प्राथमिकता निर्धारण गर्नेछ।
सम्मेलन अध्यक्षताको परामर्शमा तयार गरिएको कभर डिसिजनको मस्यौदामा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी विषय समावेश गरिएको छ।
जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्र तथा हिमनदीमा निर्भर समुदाय बढी प्रभावित भइरहेको अवस्थालाई स्वीकार गर्दै यस विषयमा छुट्टै कार्य गर्ने प्रस्ताव मस्यौदामा राखिएको छ।
कभर डिसिजनको बुँदा नम्बर ३१ मा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गर्ने प्रस्ताव गरिएको छ।
यसअघि नेपाल र भुटानले पर्वतीय क्षेत्रमा बढ्दो तापक्रमका प्रभावलाई सम्बोधन गर्न ‘१.५ डिग्री सेल्सियस तापक्रम वृद्धिले पर्वतीय क्षेत्रमा पार्ने प्रभाव’ विषयमा संयुक्त प्रस्ताव अघि सारेका थिए।
कोप–३१ को कभर डिसिजनको मस्यौदामा प्रस्ताव समेटिनुलाई पर्वतीय क्षेत्रका जलवायु चुनौती र हिमाली समुदायका समस्यालाई अन्तर्राष्ट्रियस्तरमा उठाउने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।










Discussion about this post