जापानमा आयोजना हुने पाँचौँ एसियाली पारा खेलकुद (पारा एसियाड) मा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता र सदस्य मोनालिसा खम्बुले टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेका हुन्।
जापानको आइची–नागोयामा आउँदो कात्तिक १ देखि ७ गतेसम्म (अक्टोबर १८ देखि २४ तारिख) आयोजना हुने प्रतियोगितामा नेपालबाट आठ खेलका १९ खेलाडीले सहभागिता जनाउनेछन्।
तेक्वान्दो र जुडोका खेलाडी तथा पदाधिकारी जापान प्रस्थान गर्ने तयारीमा छन् भने अन्य खेलका टोली क्रमशः जापान जानेछन्।
नेपालले पारा एसियाडको पहिलो संस्करणदेखि नै नियमित सहभागिता जनाउँदै आएको छ। यसअघिका चार संस्करणमा नेपालले एक पदक जितेको छ।
चीनको हाङझाउमा आयोजित चौथो पारा एसियाडमा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले कांस्य पदक जितेकी थिइन्। उनी पेरिस पारालिम्पिकमा पनि कांस्य पदक विजेता हुन्।
यसपटकको प्रतियोगितामा सहभागी नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै देशका लागि पदक जित्ने अपेक्षा गरिएको छ।










Discussion about this post