चितवन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारलाई सकारात्मक समन्वय र सहकार्यका साथ काम गर्ने अवसर दिनुपर्ने बताएका छन्।
आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले सरकारले सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा बन्द स्वदेशी उद्योग सञ्चालनमा ल्याउने विषयमा गरेका प्रयास सकारात्मक रहेको बताए।
उनले सरकारले गरेका काम कानुनअनुसार हुनुपर्नेमा जोड दिँदै जनताको दैनिक जीवनसँग जोडिएका समस्यालाई पनि प्राथमिकताका साथ समाधान गर्नुपर्ने बताए।
महँगी नियन्त्रण, कृषि क्षेत्रमा मल तथा बीउको सहज उपलब्धता र करसम्बन्धी निर्णयमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ। विद्युत्, शिक्षा, स्वास्थ्य तथा राइड सेयरिङलगायत क्षेत्रमा थप कर लगाउँदा जनतामा पर्ने प्रभावबारे गम्भीर हुनुपर्ने उनले बताए।
कानुन बनाउनु मात्र पर्याप्त नहुने उल्लेख गर्दै घिसिङले त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। विगतमा देखिएको निराशा अन्त्य गरी जनतामा आशा जगाउने अपेक्षा अझै पूरा हुन नसकेको उनको भनाइ थियो।
यसैबीच, अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीको सङ्गठन विस्तार तथा सदस्यता अभियान देशभर तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए।










Discussion about this post