काठमाडौं — भारतले नेपालका लागि नयाँ राजदूतमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ। भारतीय विदेश मन्त्रालयले दलेलाको नाम नेपालको परराष्ट्र मन्त्रालयमा सहमतिका लागि पठाएको हो।
नेपाल सरकारले सहमति दिएपछि दलेला काठमाडौंस्थित भारतीय दूतावासमा राजदूतका रूपमा जिम्मेवारी सम्हाल्नेछन्। यसअघि भारतीय राजदूत नवीन श्रीवास्तवले कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि नेपालमा भारतीय राजदूतको पद रिक्त थियो।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले भारतको विदेश मन्त्रालयको ‘नर्थ’ डिभिजनमा निर्देशक तथा संयुक्त सचिवका रूपमा काम गरेका छन्। उक्त विभागले नेपाल र भुटानसँगको सम्बन्ध हेर्ने गर्छ।

दलेला सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूत थिए। हाल उनी भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा कार्यरत छन्। उनले तेलअभिभ, ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा समेत विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।










Discussion about this post