वीरगन्ज — पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशील साह कानुले वीरगन्जस्थित नारायणी रंगशाला र टीबी शाह क्रिकेट मैदानका लागि विशेष बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद कानुले लामो समयदेखि जीर्ण अवस्थामा रहेको नारायणी रंगशालाको जीर्णोद्धार तथा टीबी शाह क्रिकेट मैदानको निर्माणका लागि सरकारको थप ध्यान आवश्यक रहेको बताए।
उनले वीरगन्जले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिँदै आए पनि खेलकुद पूर्वाधारका क्षेत्रमा भने अपेक्षित विकास हुन नसकेको बताए।
नारायणी रंगशालाको जीर्णोद्धार तथा स्तरोन्नतिका लागि २५ करोड रुपैयाँ विनियोजन गरेकोमा सरकारलाई धन्यवाद दिँदै उनले उक्त बजेट पर्याप्त नभएको उल्लेख गरे। आगामी ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत ध्यानमा राख्दै टीबी शाह क्रिकेट मैदान निर्माणका लागि आवश्यक बजेट तत्काल सुनिश्चित गर्न उनले माग गरे।
सांसद कानुले रंगशाला तथा क्रिकेट मैदानका लागि आवश्यक जग्गाको मुआब्जा प्रक्रिया पनि शीघ्र टुंग्याउन सरकारको ध्यानाकर्षण गराए।
उनका अनुसार सरकारले निर्धारण गरेको मुआब्जा लिएर जग्गा छाड्न जग्गाधनीहरू तयार भए पनि मुआब्जा रकम यकिन गर्ने फाइल करिब एक वर्षदेखि जिल्ला प्रशासन कार्यालय पर्सामा रोकिएको छ।
मुआब्जा प्रक्रिया लामो समयसम्म रोकिँदा रंगशाला तथा क्रिकेट मैदानको पूर्वाधार विकास प्रभावित भएको भन्दै सांसद कानुले सरकारले यस विषयलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए।










Discussion about this post