काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकाका अनुभवी अलराउन्डर तथा पूर्वकप्तान एन्जेलो म्याथ्युजलाई अनुबन्ध गरेको छ।
अन्तर्राष्ट्रिय क्रिकेटमा ब्याटिङ, मध्यम गतिका बलिङ र नेतृत्व क्षमताका लागि परिचित म्याथ्युजको आगमनले विराटनगरको टोली थप बलियो र अनुभवी बन्ने अपेक्षा गरिएको छ।
म्याथ्युजले टेस्ट, एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाको प्रतिनिधित्व गरिसकेका छन्। मध्यक्रममा जिम्मेवारीपूर्वक ब्याटिङ गर्ने र दबाबपूर्ण अवस्थामा खेल सम्हाल्ने क्षमताका कारण उनी प्रभावशाली अलराउन्डरका रूपमा परिचित छन्।
सन् २००८ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट करियर सुरु गरेका उनले श्रीलंकाको राष्ट्रिय टोलीको कप्तानीसमेत सम्हालेका थिए। सन् २०१४ मा इंग्ल्यान्डविरुद्ध श्रीलंकाले ऐतिहासिक टेस्ट शृङ्खला जित्दा उनले कप्तानका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सोही वर्ष उनी आईसीसीको एकदिवसीय अलराउन्डर वरीयताको शीर्ष स्थानमा पुगेका थिए।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ९० खेल खेलेका म्याथ्युजले १ हजार ४१६ रन बनाउनुका साथै ४५ विकेट लिएका छन्। उनले सन् २०२२ को मे महिनामा आईसीसी पुरुष प्लेयर अफ द मन्थको अवार्डसमेत जितेका थिए।
लामो अन्तर्राष्ट्रिय अनुभव र ब्याटिङ तथा बलिङ दुवैमा योगदान दिन सक्ने क्षमताका कारण म्याथ्युज एनपीएलको तेस्रो संस्करणमा विराटनगर किंग्सका लागि महत्त्वपूर्ण खेलाडी बन्न सक्ने अपेक्षा गरिएको छ।










Discussion about this post