कञ्चनपुर । कञ्चनपुरको निङ्गलाशैनी विकास समाज, भीमदत्त नगरपालिका–१८, गोबरैयाको आयोजनामा यही असोज १६ गतेदेखि जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
दशैं तथा शुभदीपावलीको अवसर पारेर २०८३ साल असोज १६, १७ र १८ गते जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
स्वास्थ्यका लागि खेलकुद, स्वस्थ समाज निर्माण, आपसी भाइचारा तथा बन्धुत्वको विकाससँगै चाडपर्वका बेला खेलाडी तथा शुभेच्छुकबीच भेटघाट र रमाइलो गर्ने वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता जिल्ला खेलकुद विकास समिति कञ्चनपुरको कभर्डहलमा सञ्चालन हुने खेल संयोजक दिलबहादुर धामीले बताए । उनका अनुसार प्रतियोगिताको उद्घाटन असोज १६ गते बिहान ८ बजे हुनेछ ।
प्रतियोगितामा B+ Open Men’s Double, 45+ Doubles Veterans र 50+ Doubles Veterans विधामा खेल सञ्चालन गरिने उनले जानकारी दिए । प्रतियोगिता ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (BWF) को नियमअनुसार नकआउट प्रणालीमा खेलाइने आयोजकले जनाएको छ ।
B+ Open Men’s Double तर्फ प्रथम हुने टिमले २५ हजार, दोस्रोले १२ हजार तथा तेस्रो हुने दुई टिमले ६/६ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै ४५ वर्षमाथिको भेट्रान्सतर्फ प्रथमलाई १५ हजार, दोस्रोलाई ८ हजार र तेस्रो हुने दुई टिमलाई ४/४ हजार तथा ५० वर्षमाथिको भेट्रान्सतर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रो हुने दुई टिमलाई ३/३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । विजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्रसमेत प्रदान गरिने समाजका सचिव गणेशप्रसाद भट्टले बताए ।
तीनवटै विधामा टिम दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको उनले जानकारी दिए । B+ Open Men’s प्रतियोगितामा राष्ट्रिय खेलाडी भएको १० वर्ष अवधि नाघेको खेलाडीले समेत सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ । ४५+ र ५०+ विधाका खेलाडीले उमेर खुल्ने परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
आयोजकका अनुसार २०८३ असोज १४ गते साँझ ४ बजेसम्म टिम दर्ता गर्न सकिनेछ । सोही दिन साँझ ६ बजे टाइ–सिट सार्वजनिक गरिनेछ ।
प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो खाना तथा बसोबासको व्यवस्था आफैं गर्नुपर्ने बताइएको छ । खेलका क्रममा कुनै विवाद उत्पन्न भएमा आयोजकको निर्णय अन्तिम हुने प्रतियोगिता सम्बन्धी नियममा उल्लेख गरिएको छ ।
जिल्लाका सम्पूर्ण खेलाडीलाई आ–आफ्नो टिम दर्ता गरी प्रतियोगितामा सहभागी हुन आग्रह गरिएको समाजका अध्यक्ष पशुपती प्रसाद भट्टले बताए । उनका अनुसार प्रतियोगिता संयोजनका लागि दिल बहादुर धामी, भरत चन्द र मोहन ऐरलाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ ।
प्रतियोगिताका लागि आवश्यक तयारी भइरहेको बताउँदै अध्यक्ष भट्टले खेलकुदमार्फत स्वस्थ जीवनशैलीको विकाससँगै चाडपर्वको अवसरमा आपसी सद्भाव, भाइचारा र बन्धुत्वलाई थप मजबुत बनाउन प्रतियोगिताले योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
सञ्चालक: मनिषा भट्ट
अतिथि सम्पादक: हिरा कुमारी भट्ट
सम्पादक: बिरेन्द्र कलौनी
कार्यकारी प्रमुख: प्रकाश भट्ट
फोटो पत्रकार: दिपक नाथ
संवाददाता: रबि भट्ट










Discussion about this post