लेखक : गोविन्द राज ओझा (राजन)
देशका निम्ति केही गरौँ, मनमा जागोस् जोश,
राष्ट्रप्रेमको भावले, बढोस् हाम्रो होश।
दृढ इरादा साथमा, अघि बढौँ आज,
सपनालाई कर्मले नै, दिऔँ नयाँ आवाज।
हिमालझैँ अटल बनौँ, आँधीसँग नझुकौँ,
मेहनतका पाइलाले, शिखरतिर नै पुगौँ।
माटोको ऋण सम्झेर, कर्म गरौँ महान्,
नेपालीको स्वाभिमान, राखौँ सधैँ उच्च स्थान।
देश बने हामी बनौँ, यही हाम्रो प्रण,
जनहितमा समर्पित होस्, जीवनको प्रत्येक क्षण।
एकताको दीप बालौँ, हटोस् मनको अँध्यारो,
सत्य, साहस र कर्मले, बनाऔँ देश प्यारो।
नदीझैँ निरन्तर बगौँ, सेवाको धार बनी,
नेपालको गौरव लेखौँ, कर्मशील सन्तान बनी।
इरादा बलियो भएपछि, सपना टाढा हुँदैन,
मेहनत गर्ने नेपालीको, लक्ष्य कहिल्यै हार्दैन।
जय देश, जय नेपाली, जय मातृभूमि महान्,
कर्मभूमि यो नेपाललाई, बनाऔँ सधैँ स्वाभिमान।









Discussion about this post