धनगढी । कथाकार यज्ञराज जोशीद्वारा लिखित कथासंग्रह ‘बैसाखी’को गृहविमोचन तथा आसन्न धनगढी साहित्य सम्मेलनको तयारीबारे धनगढीमा छलफल गरिएको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको सभाहलमा आयोजित कार्यक्रममा कथासंग्रहमाथि साहित्यिक विमर्शसमेत गरिएको हो।
कार्यक्रममा समीक्षक गणेश जोशीले ‘बैसाखी’मा विविध विषयवस्तु समेटिएका कथा रहेको उल्लेख गर्दै लेखकले आफूले देखेका, भोगेका र सुनेका अनुभवलाई आकर्षक ढङ्गले कथामा प्रस्तुत गरेको बताए। कथामा मनोवैज्ञानिक प्रयोगसँगै सामाजिक यथार्थलाई प्रभावकारी रूपमा चित्रण गरिएको उनको भनाइ थियो।
उनले कथामार्फत लेखकले शान्ति, समानता, सद्भाव र मानवताको सन्देश दिन खोजेको उल्लेख गर्दै आञ्चलिक शब्दको प्रयोगले कृतिलाई थप मौलिक र आकर्षक बनाएको बताए।
कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालले ‘बैसाखी’ले ओझेलमा परेका पात्र र विषयवस्तुलाई साहित्यमा उजागर गरेको बताए। उनले लेखक जोशीको पात्रको मनोविज्ञान खोतल्न सक्ने लेखनशैली प्रशंसनीय रहेको धारणा व्यक्त गरे। साहित्य सम्मेलन सफल बनाउन प्रतिष्ठानले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए।
राष्ट्रिय सभा सदस्य नारायण मिश्रले नेपाली साहित्यमा सुदूरपश्चिमको उपस्थिति बलियो हुँदै गएकोमा खुसी व्यक्त गरे। प्रविधिको बढ्दो प्रयोगसँगै पठन संस्कृतिप्रति आकर्षण घटिरहेको अवस्थामा ‘बैसाखी’ जस्ता कृति आउनु सुखद् पक्ष भएको उनको भनाइ थियो।










Discussion about this post