कञ्चनपुर । मानसखण्ड फाउन्डेसन कञ्चनपुरको आयोजनामा तीन जना स्रष्टाका कथा तथा गजल सङ्ग्रहमाथि विमर्श र रचनावाचन कार्यक्रम सम्पन्न भएको छ।
मानसखण्ड गुरुकुलको सभाकक्षमा आयोजित कार्यक्रममा पुष्पराज पाण्डेयको कथासङ्ग्रह ‘किनारा’, तारा पल्लवीको गजलसङ्ग्रह ‘सिरानी’ र यज्ञराज जोशीको कथासङ्ग्रह ‘वैशाखी’ माथि समीक्षा तथा विमर्श गरिएको हो।
कार्यक्रममा ‘किनारा’ माथि साहित्यकार जगदीश ओझा, ‘सिरानी’ माथि उपप्राध्यापक प्रजापति नेगी र साहित्यकार रमेश पन्त मीतबन्धुले तथा ‘वैशाखी’ माथि उपप्राध्यापक श्यामसुन्दरले समीक्षा प्रस्तुत गरेका थिए।
मानसखण्ड फाउन्डेसनका अध्यक्ष नारा जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तथा साहित्यकार रामलाल जोशी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा संविधानसभा सदस्य आनन्दी पन्त, साहित्यकार तथा विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।
कृति समीक्षापछि तीनै जना कृतिकार, समीक्षक तथा प्रमुख अतिथि रामलाल जोशीलाई फाउन्डेसनका तर्फबाट सम्मान गरिएको थियो। त्यसपछि आयोजित रचनावाचन कार्यक्रममा दर्जनौँ कवि तथा स्रष्टाले आफ्ना कविता, गजल तथा साहित्यिक रचना प्रस्तुत गरेका थिए।
कार्यक्रममा कृतिकारहरूले समीक्षकबाट प्राप्त सुझाव र टिप्पणीप्रति आभार व्यक्त गरेका थिए। प्रमुख अतिथि रामलाल जोशीले कृतिकारहरूलाई बधाई दिँदै सुदूरपश्चिमको साहित्यिक विकासका लागि स्रष्टा तथा साहित्यिक संस्थाहरूबीच आपसी सहकार्य र एकता आवश्यक रहेको बताए।
फाउन्डेसनका सचिव हेमबाबु लेखकले स्वागत मन्तव्य राखेको कार्यक्रम सदस्य कविराज भट्टले सञ्चालन गरेका थिए। कार्यक्रम मानसखण्ड गुरुकुलको प्रायोजनमा सम्पन्न भएको हो।










Discussion about this post