काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेका हुन्।
वर्ल्डलिंकका अनुसार हालैको बाढीका कारण कम्पनीको नेटवर्क तथा पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार कम्पनीको आफ्नै संरचनामा करिब ३ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
पूर्वाधारमा क्षति पुगे पनि प्रभावित क्षेत्रमा इन्टरनेट सेवा लामो समय अवरुद्ध हुन नदिन कम्पनीले बाढी आएको तीन दिनभित्रै नेटवर्क पुनःस्थापना गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ। सडक, विद्युत् लगायतका पूर्वाधारमा क्षति पुगेका अवस्थामा पनि प्राविधिक टोली परिचालन गरी नेटवर्क मर्मत तथा पुनःस्थापनाको काम गरिएको कम्पनीको भनाइ छ।
विपद्का समयमा सूचना आदानप्रदान, उद्धार तथा राहत कार्यको समन्वय र आपत्कालीन सञ्चारका लागि इन्टरनेट सेवा महत्वपूर्ण हुने भएकाले सेवा निरन्तर राख्न प्राथमिकता दिइएको वर्ल्डलिंकले जनाएको छ।










Discussion about this post