काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने तथा कालोबजारी गर्ने प्रवृत्ति रोक्न सरकारले बजार अनुगमनलाई तीव्र बनाएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबारदेखि देशका विभिन्न क्षेत्रमा १३ वटा बजार अनुगमन टोली परिचालन गर्ने भएको छ। यसअघि पाँचवटा टोलीमार्फत बजार अनुगमन हुँदै आएको थियो।
चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको माग बढ्ने तथा पृथ्वी राजमार्ग अवरुद्ध हुँदा आपूर्ति व्यवस्थामा समेत असर पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै अनुगमन टोलीको संख्या बढाइएको विभागले जनाएको छ।
विभागका निर्देशक तथा सूचना अधिकारी अनिल किरातीका अनुसार अनुगमनका क्रममा वस्तुको मूल्य, उपलब्धता र बिक्री–वितरणको अवस्थाबारे निगरानी गरिनेछ। सामान्य अवस्थामा बिक्री हुँदै आएको वस्तुको मूल्य अचानक बढाइएको पाइएमा त्यसको कारणसमेत खोजिने उनले बताए।
“हिजो–अस्ति जुन मूल्यमा सामान बिक्री भइरहेको थियो, त्यसको तुलनामा फरक मूल्यमा बिक्री गरेको पाइए अनुगमन टोलीले ठाउँको ठाउँ कारबाही गर्न सक्छ,” किरातीले भने।
कृत्रिम अभाव सिर्जना गर्नेमाथि निगरानी
चाडपर्वको समयमा माग बढेको मौका छोपेर व्यापारीले आपूर्ति रोकिएको वा सामान अभाव भएको भन्दै मूल्य बढाउने गरेको गुनासो आउने गरेको छ। विभागले वास्तविक आपूर्ति समस्या र कृत्रिम अभावबीचको अवस्था पहिचान गरी अनुगमन गर्ने जनाएको छ।
बढी मूल्य लिएको, सामान लुकाएर कृत्रिम अभाव सिर्जना गरेको वा उपभोक्तामाथि अनुचित आर्थिक भार पार्ने गतिविधि गरेको भेटिए तत्काल कारबाही गरिने विभागले जनाएको छ।
उपभोक्तावादी ज्योति बानियाँले भने आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताए। उनले प्रदेश र स्थानीय तहसँग समन्वय गरी हेटौंडालगायत रणनीतिक स्थानमा अत्यावश्यक वस्तुको भण्डारण व्यवस्था गर्नुपर्नेमा जोड दिए।
पछिल्ला दुई दिनमा खाद्यान्नको मूल्य उल्लेख्य रूपमा बढेको भन्दै उनले खरिद तथा बिक्री बिलसमेत अनुगमन गर्नुपर्ने बताए। विगतका वर्षमा सरकारले खाद्यान्नको स्टक विवरण सार्वजनिक गर्ने गरे पनि यस वर्ष त्यसो हुन नसकेको भन्दै उनले तत्काल स्टक घोषणा गर्न माग गरे।
उपभोक्तावादी माधव तिमल्सिनाले साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत अत्यावश्यक खाद्य सामग्रीको बिक्री–वितरण व्यवस्थित बनाउनुपर्ने बताए। वैकल्पिक सडकमार्फत साना सवारीसाधनबाट समेत उपभोक्ताले सहज रूपमा सामग्री खरिद गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ।
चिनी, आलु र प्याजमा विशेष निगरानी
भारतबाट आयात हुने चिनी, आलु, प्याजलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा केही असहजता देखिन थालेपछि विभागले यी वस्तुको उपलब्धता र मूल्यमा समेत निगरानी बढाउने भएको छ।
चाडपर्वमा माग बढ्ने र आपूर्ति कमजोर भएमा मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने भएकाले बजारमा वस्तुको वास्तविक उपलब्धता तथा मूल्य अवस्थालाई नजिकबाट नियालिने विभागले जनाएको छ।
उपभोक्ताले बजारमा बढी मूल्य असुलेको, सामान लुकाएर अभाव सिर्जना गरेको वा अन्य अनियमितता भएको जानकारी पाए विभागको ११३७ नम्बरमा तथा हेलो सरकारको ११११ नम्बरमा गुनासो गर्न सक्नेछन्।
त्रिभुवन राजपथबाट काठमाडौंमा पेट्रोलियम पदार्थ
कृष्णभिरमा पहिरो गएपछि मुग्लिन–धादिङ हुँदै काठमाडौं आउने पृथ्वी राजमार्ग अवरुद्ध भएकाले वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ काठमाडौं ल्याउन थालिएको छ।
त्रिभुवन राजपथको पालुङ–टिस्टुङ–नौबिसे–नागढुंगा खण्डलाई एकतर्फी सञ्चालन गरी सोमबार दिउँसो हेटौंडाबाट पेट्रोल, डिजेल र हवाई इन्धन बोकेका ६२ वटा ट्यांकर काठमाडौं पठाइएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगन्जले जनाएको छ।
यता, आयल निगमको हवाई इन्धन कार्यालय सिनामंगलका अनुसार सिनामंगल डिपोमा हाल करिब ४७ लाख लिटर हवाई इन्धन मौज्दात रहेको छ। उक्त मौज्दातले कम्तीमा १२ दिनको माग धान्न सक्ने कार्यालयले जनाएको छ।
सडक मर्मतमा केही दिन लाग्न सक्ने र ठूला ग्यास बुलेट काठमाडौं प्रवेश गर्न नसक्ने अवस्था आउन सक्ने भन्दै नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक चण्डिका भट्टले वैकल्पिक उपाय अपनाउन सुझाव दिएका छन्।
उनले काठमाडौं उपत्यकामा एलपीजी ग्यासको सम्भावित अभाव रोक्न तत्काल ४५० केजी र ५ केजीका सिलिन्डरमार्फत ग्यास आपूर्ति खुला गर्नुपर्ने बताए। भारतबाट आउने ठूला ग्यास बुलेटलाई चितवनमै रोकेर ४५० केजीका सिलिन्डरमा ग्यास अनलोड गरी साना ट्रकमार्फत काठमाडौं ल्याउन सकिने उनको सुझाव छ।
सरकारले बजारमा अत्यावश्यक वस्तुको आपूर्ति तथा मूल्य अवस्था नियन्त्रणमा राख्न अनुगमन तीव्र बनाए पनि आपूर्ति व्यवस्थालाई सहज बनाउन वैकल्पिक मार्ग र भण्डारण प्रणालीलाई समेत प्रभावकारी बनाउनुपर्ने देखिएको छ।










Discussion about this post