काठमाडौं : रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी गएलगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाएको छ । जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र)का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले निर्देशन दिए लगत्तै सरोकारवाला निकायहरुले आफ्ना संयन्त्रहरु परिचालन गरी बाढीग्रस्त क्षेत्रमा उद्धार, खोज र राहतलाई तीव्रता दिएका छन् । प्रधानमन्त्री शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुई वटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ । साथै निजी कम्पनीका हेलिकप्टरहरुलाई उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ ।
प्रधानमन्त्री शाहले ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्। अहिले सिंहदरबारस्थित गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा गृहमन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसिरहेको छ ।
गृह मन्त्रालयले बाढीबाट पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न/नगराउन आग्रह समेत गरेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासनलगायतले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका छन् ।










Discussion about this post