काठमाण्डौ – बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले देशका पूर्वी तथा मध्य भेगका विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ। पूर्वदेखि लुम्बिनी प्रदेशसम्मका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने हिमाली क्षेत्रमा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा काभ्रेमा सबैभन्दा धेरै २० मिलिमिटर वर्षा मापन भएको छ। काठमाण्डौ उपत्यकासहित विभिन्न स्थानमा रातिदेखि नै निरन्तर वर्षा भइरहेको छ।
आज देशका विभिन्न स्थानमा थप वर्षा र हिमपात हुने सम्भावना छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ।

आज राति पनि देशका केही स्थानमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। यस्तै, भोलि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने जनाइएको छ।
मौसमविद्का अनुसार भोलि बेलुकादेखि वर्षा गराउने प्रणाली कमजोर हुँदै बाहिरिने सम्भावना छ। आइतवारदेखि भने मौसम क्रमशः सुधार हुँदै जाने अनुमान गरिएको छ। त्यस दिन देशभर आंशिक बदली रहने र हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने भए पनि भारी वर्षाको सम्भावना छैन।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गर्दै भोलिसम्म हावाहुरी, चट्याङ, हिमआँधी र भारी वर्षाको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ।
सम्भावित वर्षा, बाढी, पहिरो, चट्याङ तथा हिमपातको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी आधिकारिक सूचनाको पालना गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।










Discussion about this post