काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाका नगरप्रमुख रवी केसीसहित ११ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७६र७७ मा सहकारी संस्था छनोट कार्यविधिविपरीत योग्यता नपुगेको आठबीसकोट दुग्ध सहकारी संस्था लिमिटेडलाई चिस्यान केन्द्र निर्माणका लागि अनुदान उपलब्ध गराउनुका साथै सोही संस्थाका लागि नगरपालिकाबाट गाडी खरिद गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ।
आयोगले नगरप्रमुख केसीविरुद्ध ८० लाख २३ हजार ५१ रुपैयाँ बिगो दाबी गरेको छ। यस्तै तत्कालीन पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख सुवर्ण सिंह ठकुरी, पशु स्वास्थ्य अधिकृत ज्ञानुकुमार शर्मा, पशु सेवा अधिकृत शेरबहादुर खड्का, लेखा अधिकृत यमबहादुर पुन, कृषि अधिकृत मीनबहादुर केसी तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहविरुद्ध जनही ९१ लाख १७ हजार ८७३ रुपैयाँ बिगो कायम गरिएको छ।
त्यसैगरी आठबीसकोट दुग्ध सहकारी संस्थाका अध्यक्ष जनक बटाला, उपाध्यक्ष वीरबहादुर रोकाय, सचिव प्रकाश खड्का र कोषाध्यक्ष जुनकुमारी चनेलविरुद्ध चिस्यान केन्द्र निर्माणतर्फ ९१ लाख १७ हजार ८७३ रुपैयाँ र गाडी खरिदतर्फ ८० लाख २३ हजार ५१ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ। अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार फरक–फरक बिगो, कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गर्दै बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।










Discussion about this post