कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित जनज्योति टोल क्षेत्रमा शिक्षा युवा क्लबको नेतृत्वमा गाँजाका बोटहरू नष्ट गरिएको छ। लागूऔषधमुक्त, सुरक्षित र सचेत समाज निर्माण गर्ने उद्देश्यका साथ क्लबले स्थानीय समुदायको सहभागितामा यो विशेष अभियान सञ्चालन गरेको हो।
अभियानअन्तर्गत जनज्योति टोल र आसपासका सार्वजनिक क्षेत्रहरूमा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोटहरू फेला पारी व्यवस्थापन तथा नष्ट गरिएको क्लबले जनाएको छ। युवाहरूको यो सक्रियतालाई स्थानीय बासिन्दाहरूले समेत सकारात्मक रूपमा लिँदै ऐक्यबद्धता जनाएका छन्।
क्लबका सचिव निरज सिंह मिजारका अनुसार युवाहरू कुलतमा फस्ने प्रमुख कारणमध्ये सहजै उपलब्ध हुने यस्ता प्राकृतिक लागूऔषध पनि एक हुन्। उनले गाँजाका बोटहरूको व्यवस्थापनसँगै स्थानीय समुदाय र विशेष गरी युवा पुस्तालाई लागूऔषधको दुर्व्यसनी र यसले पार्ने सामाजिक एवं मानसिक असरबारे सचेत गराउन यो अभियान थालिएको जानकारी दिए।
“लागू औषध गरौं निषेध, शिक्षा युवा क्लबको यही सन्देश” भन्ने मुख्य नाराका साथ अघि बढेको क्लबले समुदायको सहयोग र युवाहरूको सक्रिय सहभागिता रहेमा मात्रै समाजमा सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरेको छ।
क्लबले समाजहितका यस्ता सचेतनामूलक र सुधारात्मक अभियानहरूलाई आगामी दिनमा पनि निरन्तर अघि बढाउने प्रतिबद्धता जनाउँदै अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण स्थानीयवासी, स्वयंसेवक एवम् सहभागीहरूमा धन्यवाद समेत ज्ञापन गरेको छ।










Discussion about this post