कञ्चनपुर । कञ्चनपुरका भोजराज भट्ट र धनगढीकी सिर्जना भट्टले दाइजो तथा सुनका गरगहनाबिनै विवाह सम्पन्न गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालका भोजराज र धनगढीकी सिर्जना भट्टको असार १५ गते विवाह भएको हो।
विवाहलाई भड्किलो प्रतिस्पर्धा र आर्थिक प्रदर्शनको माध्यम बनाउनुभन्दा आपसी विश्वास, समझदारी र मानवीय मूल्यमा आधारित बनाउनुपर्छ भन्ने सन्देश दिन यो कदम चालिएको बेहुलाका दाई गोकर्ण भट्टले बताउनुभयो। प्रेम, सम्मान, समानता र सामाजिक उत्तरदायित्वलाई जीवनको मुख्य आधार मान्दै नवदम्पतीले कुनै पनि प्रकारको दाइजो र सुनका गरगहना नलिई वैवाहिक बन्धनमा बाँधिने निर्णय गरेको उहाँको भनाइ रहेको छ।

दुलाहा भोजराज भट्टको पुर्ख्यौली घर बैतडीको दशरथचन्द नगरपालिका भए पनि हाल उनी भीमदत्त नगरपालिका–७, हल्दुखाल, कञ्चनपुरमा बसोबास गर्दै आइरहनु भएको छ भने दुलही सिर्जना भट्टको पुर्ख्यौली घर पनि बैतडी नै भई हाल उहाँ धनगढीमा बसोबास गर्दै आउनुभएको छ।
धार्मिक परम्पराअनुसार सम्पन्न विवाह समारोहमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू, समाजसेवी, शुभेच्छुक तथा आफन्तजनको उपस्थिति रहेको थियो। समारोहमा उपस्थित अतिथिहरूले नवदम्पतीलाई सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दै यो दाइजोमुक्त विवाहको खुलेर प्रशंसा गरेका छन्।
समाजमा बढ्दो तडकभडक, दाइजो प्रथा र अनावश्यक खर्चको प्रवृत्तिबीच भोजराज र सिर्जनाले अपनाएको यो निर्णयलाई युवापुस्ताका लागि अनुकरणीय कदमका रूपमा हेरिएको छ। यसले दाइजोमुक्त समाज निर्माण, लैङ्गिक समानताको प्रवर्द्धन तथा सरल, सभ्य र जिम्मेवार विवाह संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।










Discussion about this post