कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकमा “स्थानीय विपद् तथा जलवायु उत्थानशीलता खाका (एलडीसीआरएफ)” को मस्यौदामाथि छलफल तथा सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र मर्सीकोर नेपालको साझेदारी तथा द कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान)’ परियोजना अन्तर्गत पुनर्वास नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।
साविकका डिपिसिआरपि, लापा, र एलडिसिआरपि जस्ता विभिन्न विपद् तथा जलवायु सम्बन्धी योजनाहरूलाई एकीकृत गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशिका बमोजिमको खाका तयार पार्न यो प्रक्रिया अघि बढाइएको हो। यस एकीकृत खाकाले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रको सुदृढीकरण र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेको छ।
पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले भौगोलिक तथा वातावरणीय हिसाबले पालिका विपद्को जोखिममा रहने भएकाले यो एकीकृत खाका पुनर्वासका लागि अत्यन्तै महत्त्वपूर्ण दस्तावेज बन्ने बताउनुभयो। उहाँले साविकका योजनाहरू छरिएर रहँदा कार्यान्वयनमा जटिलता हुने गरेको स्मरण गर्दै अब बन्ने नयाँ खाकाले पालिकाको विपद् व्यवस्थापन र जलवायु अनुकूलनका कार्यक्रमहरूलाई एकै ठाउँबाट व्यवस्थित गर्न ठूलो योगदान पुर्याउने बताउनुभयो।
त्यसै गरी सान परियोजनाका संयोजक देवराज बडुले बदलिँदो जलवायु परिवेश र पालिकाको वास्तविक जोखिम प्रोफाइललाई आधार मानेर यो खाका तयार पारिएको बताउनुभयो। स्थानीय तहले यस खाकालाई आत्मसात् गरी कार्यान्वयनमा ल्याएमा विपद् आउनुपूर्व नै गरिने पूर्वकार्यहरू व्यवस्थित भई जनधनको क्षति न्यूनीकरण गर्न सकिने उहाँको भनाइ रहेको छ।
पुनर्वास नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरू, विषयगत शाखाका प्रमुखहरू, विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू र सान परियोजना टोलीको सक्रिय उपस्थिति रहेको थियो। कार्यशालामा सहभागीहरूले पालिकाको वास्तविक आवश्यकता र जोखिमका आधारमा महत्त्वपूर्ण प्राविधिक सुझावहरू प्रदान गरेका छन्, जसलाई समेटेर यस खाकालाई अन्तिम रूप दिइनेछ।










Discussion about this post