नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ। निगम सञ्चालक समितिको बैठकले हाल कायम रहेको पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको हो।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर उतारचढाव भइरहे पनि हालका लागि उपभोक्तालाई राहत दिने उद्देश्यले साविककै मूल्य कायम राखिएको छ।
हाल पहिलो वर्गका क्षेत्रहरूमा पेट्रोल प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल प्रतिलिटर २२२ रुपैयाँ ५० पैसामा बिक्री भइरहेको छ। दोस्रो वर्गका क्षेत्रमा पेट्रोल २१६ रुपैयाँ र डिजेल/मट्टितेल २२४ रुपैयाँ प्रतिलिटर कायम छ भने काठमाडौँ, पोखरा र दिपायल समेटिएका तेस्रो वर्गका क्षेत्रमा पेट्रोल २१७ रुपैयाँ तथा डिजेल/मट्टितेल २२५ रुपैयाँ प्रतिलिटरमै बिक्री हुने निगमले जनाएको छ।
यता अन्तर्राष्ट्रिय स्तरमा अमेरिका र इरानबीच युद्धविराम सम्झौता भएपछि कच्चा तेलको बजारमा केही स्थिरता आउने अपेक्षा गरिएको छ। यसले आगामी दिनमा इन्धन मूल्यसँगै ढुवानी, उत्पादन र उपभोग्य वस्तुको मूल्यमा समेत सकारात्मक प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।










Discussion about this post