चितवन : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटलाई उद्योग तथा व्यवसायमैत्री बनाउने तयारी गरिरहेको बताएका छन्।
चितवनमा रहेको प्रिफ्याव प्यानल नेपाल प्रालिको अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री बानियाँले निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिने जानकारी दिए। उनले उद्योगमैत्री नीति तथा कार्यक्रममार्फत व्यवसायीलाई थप प्रोत्साहन गर्ने योजना रहेको उल्लेख गरे।
उनका अनुसार वातावरण तथा पर्यापर्यटनसँग सम्बन्धित २५ करोड रुपैयाँभन्दा कम लगानीका उद्योगहरूलाई बैंक ब्याजमा ५० प्रतिशतसम्म अनुदान दिने कार्यक्रम कार्यान्वयनको चरणमा छ। साथै, यस्ता उद्योगलाई सहुलियतपूर्ण कर्जामा पहुँच दिलाउने नीति पनि अघि बढाइएको छ।
मुख्यमन्त्री बानियाँले ऊर्जा क्षेत्रलाई उत्पादनसँग जोड्ने रणनीति प्रदेश सरकारले अघि सारेको बताउँदै उद्योगी–व्यवसायीसँग सहकार्य गरेर औद्योगिक विकासलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गरे।
यसैबीच, निर्माण क्षेत्रमा आधुनिक र वातावरणमैत्री प्रविधि भित्र्याउने उद्देश्यले स्थापना भएको Prefab Panel Nepal Pvt. Ltd. ले “स्मार्ट प्यानल” सहितका निर्माण सामग्री बजारमा सफलतापूर्वक विस्तार गरेको जनाएको छ।
बागमती प्रदेशको उद्योगमैत्री बजेट नीति र Prefab Panel Nepal को निर्माण प्रविधि विस्तार
कम्पनीका अनुसार EPS Cement/Calcium Based Smart Panel, हलुका ब्लक तथा नेट प्यानल जस्ता उत्पादनहरूले आधुनिक निर्माणलाई छिटो, सस्तो र दिगो बनाउन सहयोग पुर्याइरहेका छन्।
हाल कम्पनीले नेपालका ५० भन्दा बढी जिल्लामा आफ्नो उत्पादन वितरण विस्तार गरिसकेको छ। आगामी दिनमा उत्पादन क्षमता वृद्धि, वितरण सञ्जाल विस्तार तथा करिब ५० करोड रुपैयाँसम्म लगानी विस्तार गर्ने लक्ष्य कम्पनीले राखेको छ। साथै निकट भविष्यमा आईपीओ जारी गर्ने योजना समेत रहेको जनाएको छ।
कम्पनीले आधुनिक निर्माण प्रविधिमार्फत देशको औद्योगिक विकास र आत्मनिर्भरतामा योगदान दिने प्रतिबद्धता जनाएको छ।










Discussion about this post