कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकाका विभिन्न वडाहरूमा समुदाय स्तरिय जोखिम नक्सांकन तथा क्षमता विश्लेषण (VCA) गरिएको छ। जलवायु परिवर्तन र विपद्का बढ्दो चुनौतीलाई मध्यनजर गर्दै नगरपालिकाको वडा नम्बर -४, -९ र -१० का विभिन्न टोलहरूमा यो अध्ययन गरिएको हो।

विशेषगरी वडा नम्बर -४ को पर्कि टोल, वडा नम्बर -१० को चुनरा अछामी टोल र चतहरी, तथा विपद् जोखिम क्षेत्र रहेको वडा नम्बर -९ को सिद्ध बैजनाथ टोललाई केन्द्रित गरी यो अध्ययन गरिएको छ।

डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र इन्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (आइएचआरआर) द्वारा सञ्चालित ‘स्मार्ट’ परियोजना अन्तर्गत वडा कार्यालयहरूसँगको समन्वय र सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको हो।अध्ययनका क्रममा ती क्षेत्रहरूमा बाढी, जंगली जनावरको आतंक, हुरीबतास, छाडा पशु चौपाया, असिना, महामारी, शितलहर, चटयाङ्ग, सर्पदंश, सडक दुर्घटना र आगलागी जस्ता प्राकृतिक तथा गैर-प्राकृतिक प्रकोपहरु मुख्य चुनौतीका रूपमा देखिएका छन्। अनियमित वर्षा र पटक-पटक आउने बाढी तथा अन्य प्रकोपहरुले गर्दा स्थानीय गरिब तथा विपन्न वर्गको जीविकोपार्जन सुरक्षामा गम्भीर असर परिरहेको पाइएको छ।

त्यस्तै यहाँका स्थानीयको मुख्य पेशा कृषि रहेको र कृषि क्षेत्र पूर्णतः विपद् जोखिमसँग जोडिएकाले जलवायु परिवर्तनको असरले दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पारेको सहभागीहरूले बताएका छन्। परिवर्तित जलवायुले ल्याएका असरहरूले स्थानीय विकासका कार्यक्रमहरूलाई समेत बाधा पुर्याएको अनुभव गरिएको छ।

वेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दले समुदाय स्तरमा गरिएको यो जोखिम विश्लेषणले वास्तविक समस्याहरूको पहिचान गर्न मद्दत पुर्याएको बताउनुभयो। उहाँले यसरी प्राप्त भएका तथ्य र तथ्याङ्कले नगरपालिकालाई आगामी दिनमा विपद् व्यवस्थापनका कार्ययोजना र बजेट तर्जुमा गर्न ठोस आधार प्रदान गर्ने बताउनुभयो।

त्यसैगरी, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) की सामाजिक परिचालिका अनिता लावडले समुदाय आफैँले आफ्नो क्षेत्रको जोखिम बुझ्नु नै विपद् न्यूनीकरणको पहिलो कदम भएको बताउनुभयो। उहाँले यो नक्सांकन प्रक्रियामा स्थानीयको सक्रिय सहभागिताले भविष्यमा आइपर्ने संकटको प्रतिकार्य गर्न समुदायलाई थप सक्षम र सचेत बनाएको बताउनुभयो।

यस विश्लेषणबाट प्राप्त तथ्याङ्क र नक्सांकनले आगामी दिनमा वडा स्तरमा प्रभावकारी विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउन र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि ठोस कार्यक्रमहरू तय गर्न महत्वपूर्ण आधार प्रदान गर्नेछ। यसका साथै, स्थानीय तह (पालिका) लाई विपद् व्यवस्थापन सम्बन्धी दीर्घकालीन योजना निर्माण गर्न समेत यसले ठूलो सहजता पुर्याउने विश्वास गरिएको छ। आगामी दिनमा पनि नगरपालिकाका विपद् जोखिमयुक्त क्षेत्रमा यो कार्य अगाडि बढाइने जनाइएको छ।










Discussion about this post