कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा दोदा नदीको कटान र डुबान नियन्त्रणका लागि ६०० मिटर लामो जैविक तटबन्ध निर्माण कार्य अगाडि बढाइने भएको छ।
वडा नम्बर १ मा वर्षेनी नदीका कारण स्थानीयले भोग्दै आएको समस्या समाधानका निम्ति चैत १५ गते समुदाय र गाउँपालिकाबीच औपचारिक सम्झौता गरिएको हो।मर्सीकोर नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) र द कोकाकोला फाउन्डेसनद्वारा सञ्चालित ‘नेपालमा पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण’ (सान) परियोजना अन्तर्गत उक्त कार्य थालिएको हो। यस परियोजनामा लालझाडी गाउँपालिकाले समेत प्रत्यक्ष सहकार्य गरेको छ।
तटबन्ध निर्माणका लागि लालझाडी गाउँपालिकाले २२ लाख २ हजार, एनएनएसडब्लुएले ७ लाख ६६ हजार र पेसवानले १३ लाख ७४ हजार रुपैयाँ लगानी गर्ने भएका छन्। यस कार्यमा स्थानीय समुदायले पनि १ लाख ३५ हजार बराबरको जनश्रमदान गर्नेछन्।
सान परियोजनाका संयोजक देवराज बडुका अनुसार जैविक तटबन्ध निर्माण कार्यलाई प्रभावकारी र दिगो बनाउन विशेष प्राथमिकता दिइएको छ। उहाँले स्थानीय स्रोतसाधनको प्रयोग र समुदायको सक्रिय श्रमदानले गर्दा यो तटबन्ध परम्परागत संरचना भन्दा दिगो र वातावरणमैत्री हुने बताउनुभयो। संयोजक बडुका अनुसार जैविक तटबन्धले नदीको बहावलाई प्राकृतिक रूपमै व्यवस्थापन गर्ने हुनाले यसले दीर्घकालीन रूपमा भू-क्षय रोक्न र तटीय क्षेत्रको जैविक विविधता संरक्षणमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ।
यसका अतिरिक्त एनएनएसडब्लुए र पेसवानले लालझाडीमा थप ३०० मिटर जैविक तटबन्ध निर्माणका लागि आवश्यक बजेट र योजनाको तयारी समेत गरिरहेका छन्।










Discussion about this post