कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ स्थित पटराखल्लामा इन्टरलक ब्लकको प्रयोग गरी जलवायु उत्थानशील घर निर्माण कार्य सुरु गरिएको छ।
जगबुडा नदीको तटीय क्षेत्रमा अवस्थित र प्रत्येक वर्षको बर्सातमा बाढी तथा डुबानको उच्च जोखिम झेल्दै आएको यस समुदायमा पहिलोपटक वातावरणमैत्री, किफायती र बलियो प्रविधिबाट सुरक्षित आवास निर्माण कार्य सुरु गरिएको हो। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कञ्चनपुर र मर्सीकोर नेपालको साझेदारीमा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील (सीआरसी) परियोजना अन्तर्गत स्थानीय बासिन्दाहरूलाई नै घर निर्माणको सीप र प्रविधिमा सहभागी गराई उक्त कार्यको सुरुवात गरिएको हो।

सीआरसी परियोजना संयोजक महेश घिमिरेले जगबुडा नदीको बाढीका कारण गत वर्ष मात्रै ४ देखि ५ फिटसम्म पानी जमेर झन्डै ३१–३२ परिवार विस्थापित भई विद्यालयमा आश्रय लिनुपरेको र माटोका कच्ची घरहरू प्रत्येक वर्ष भत्किने समस्याको दीर्घकालीन समाधानका लागि यो घर निर्माण सुरु गरिएको बताउनुभयो। समुदायसँगको छलफल र विस्तृत अध्ययनपछि इन्टरलक-ब्लक जलवायु मैत्री र सस्तो लागतमा बन्न सक्ने देखिएपछि समुदायलाई नै मेसिन र तालिम प्रदान गरी उत्पादन र निर्माणमा सक्षम बनाइएको उहाँले बताउनुभयो। परियोजनाको मुख्य उद्देश्य नै समुदायलाई बाढीजन्य विपत्सँग लड्न र जुध्न तयार बनाउनुका साथै उनीहरूलाई प्राविधिक रूपमा आत्मनिर्भर र सुरक्षित आवासको मालिक बनाउनु रहेको उहाँले बताउनुभयो। यस प्रविधिको सफल प्रयोगले आगामी दिनमा बाढी प्रभावित क्षेत्रका अति विपन्न बासिन्दाहरूको आवास सुरक्षामा ठूलो र सकारात्मक परिवर्तन ल्याउने विश्वास उहाँले व्यक्त गर्नुभयो।

इन्जिनियर दिपेश पन्तले समुदायकै ९ जना व्यक्तिहरूलाई घर बनाउने विशेष तालिम प्रदान गरिएको र अहिले उनीहरू नै यो घर निर्माणमा खटिएको बताउनुभयो। इन्टरलक ब्लकबाट बनेका घरहरू अरुको तुलनामा निकै मजबुत हुनुका साथै यो भूकम्प प्रतिरोधी र तटीय क्षेत्रको ओसिलो माटो सुहाउँदो वातावरणमैत्री समेत हुने उहाँले बताउनुभयो। रातो इँटाको तुलनामा यसमा सिमेन्ट र बालुवाको खपत निकै कम हुने भएकाले निर्माण लागत घट्ने र घरको फिनिसिङ समेत आधुनिक र आकर्षक देखिने उहाँले बताउनुभयो। स्थानीय स्तरमै उपलब्ध हुने कच्चा पदार्थको प्रयोग गरी मेसिनबाटै ब्लक उत्पादन गर्न सकिने भएकाले यो प्रविधि विपद् जोखिम न्यूनीकरण र दिगो विकासको उत्कृष्ट नमुना भएको उहाँको भनाइ रहेको छ।

घर निर्माण गरिरहेकी स्थानीय दुर्पता शाहीले विगतमा बाढी र डुबानका कारण माटोका कच्ची घरहरूमा प्रत्येक वर्ष क्षति हुने र भित्ताहरू भत्किने समस्या रहेको बताउँदै अब बलियो घरको निर्माण सुरु भएपछि बाढीको डर कम हुने विश्वास व्यक्त गर्नुभयो। बाहिरको रातो इँटाभन्दा यो एकदमै सस्तो परेको र बलियो घर बनेपछि वर्षातको समयमा बालबच्चा र सरसामान जोगाउन विस्थापित भई भौतारिनुपर्ने चिन्ताबाट मुक्त हुने आशा पलाएको उहाँले बताउनुभयो।

घर निर्माणमा खटिएका स्थानीय मिस्त्री डम्बर बहादुर सुनारले रातो इँटाको तुलनामा इन्टरलक ब्लकबाट घर बनाउन निकै सजिलो र छिटो हुने तथा हेर्दा पनि परम्परागत घरभन्दा फरक र आकर्षक बन्ने बताउनुभयो। तालिम पाएपछि आफ्नै समुदायमा घर निर्माण गरी आयआर्जन गर्न सहज भएको र यसले गर्दा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई कम गरी स्थानीय स्तरमै स्वरोजगारी सिर्जना गरेको उहाँले बताउनुभयो। यो ब्लक एकआपसमा ‘लक’ हुने भएकाले निर्माण गर्दा गारो लगाउन प्राविधिक रूपमा सजिलो हुने र फिनिसिङ गर्दा प्लास्टर नगर्दा पनि सुन्दर देखिने भएकाले अन्य उपभोक्ताको समेत आकर्षण बढ्ने उहाँले बताउनुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरूले जलवायु परिवर्तनका कारण निम्तिने प्राकृतिक विपद्लाई सामना गर्न स्थानीय स्रोतसाधन र प्रविधिको प्रयोग गरी समुदायलाई आत्मनिर्भर बनाउनु संस्थाको मुख्य प्राथमिकता रहेको बताउनुभयो। उहाँले यस्ता नवीन र किफायती प्रविधिले विपद् जोखिम न्यूनीकरणमा कोसेढुङ्गा सावित हुने र भविष्यमा अन्य जोखिमयुक्त तटीय क्षेत्रहरूमा पनि यसलाई विस्तार गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो। समुदायलाई केवल राहत र उद्धारमा मात्र सीमित नराखी उनीहरूको दिगो जीविकोपार्जन र सुरक्षित आवास सुनिश्चित गर्नका लागि एनएनएसडब्लुएले निरन्तर यस्ता सीपमूलक र प्रविधि मैत्री कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले पटराखल्लामा सुरु गरिएको यो आवास निर्माण कार्य सराहनीय र उदाहरणीय रहेको बताउनुभयो। समुदायका मान्छेहरू नै यसरी सक्रिय भएर आफ्नै घर निर्माणमा खटिनु र नवीन प्रविधिलाई आत्मसाथ गर्नु ठूलो उपलब्धि भएको भन्दै उहाँले यो प्रशंसनीय कार्यका लागि एनएनएसडब्लुए र मर्सीकोर नेपाललाई धन्यवाद ज्ञापन गर्नुभयो। नगरपालिकाले समुदायको हितका लागि सधैँ यस्ता सकारात्मक पहलहरूलाई प्रोत्साहन गर्ने र आगामी दिनमा पनि नगरपालिकाको तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग एवम् समन्वयका लागि नगरपालिका तयार रहने उहाँले बताउनुभयो।










Discussion about this post