कञ्चनपुर । पुस महिनाको दोस्रो दिन आइपुग्दा कञ्चनपुर जिल्लामा हिजोदेखि नै बाक्लो हुस्सु लागेको छ। मंसिर मसान्तसम्म बिहानैदेखि न्यानो घाम लाग्ने गरेको जिल्लामा पुस सुरु भएसँगै हुस्सुले दिनभर आकाश ढाक्दा चिसो उल्लेख्य रूपमा बढेको छ।

बिहान सबेरैदेखि हुस्सु नखुल्दा दैनिक जनजीवन प्रभावित हुन थालेको छ। चिसो र हुस्सुका कारण सर्वसाधारण नागरिकहरू अत्यावश्यक कामकाज बाहेक घर बाहिर ननिस्कने अवस्था देखिएको छ। विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित हुने देखिन्छन्।

हुस्सुका कारण सवारी आवागमनमा समस्या देखिएको छ भने बिहानको समयमा सडक दुर्घटनाको जोखिमसमेत बढेको छ। मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म कञ्चनपुरसहित तराईका जिल्लामा हुस्सु र चिसो यथावत् रहने सम्भावना रहेको छ। यसले कृषि, यातायात र स्वास्थ्य क्षेत्रमा असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विज्ञहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।











Discussion about this post